एमसीसी परियोजना राष्ट्रघाती छ : प्रकाण्ड
सुर्खेत : नेत्र विक्रम चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले एमसीसी राष्ट्रघाती नै भएको उल्लेख गरेका छन् । शक्ति राष्ट्रको चेपुवामा पारेर नेपाललाई युद्धको भूमरीमा पार्ने सम्झौता कुनै पनि हालतमा पारित गर्न नहुने प्रकाण्डले बताएका हुन ।
जनपत्रकार संगठनले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले एमसीसी लागु भएमा नेपालको राष्ट्रियतामा ईतिहासकै सर्वाधिक अमेरिकी हस्तक्षेप हुने बताए । राजनीतिक र सैन्य बलको रणसंग्राम नेपाललाई बनाउने दाउमा अमेरिका छ,’ प्रकाण्डले भने, ‘जुनसुकै अवस्थामा पनि नेपालमा लागु हुन दिनुहँदैन र त्यसका लागि थप जनदवाव निरन्तर बढाएर असफल बनाउने हाम्रो अभियान हो ।’
नेपाल हाल संकटग्रस्त अवस्थामा रहेको र नागरिकहरुमा ठूलो निराशा छाएको प्रकाण्डले उल्लेख गरे । देशको नेतृत्व चलाउने सञ्चालकहरुले जनताप्रति उत्तरदायी नहुँदा समस्या विकराल बनेको उनको भनाई छ । मुख्यगरी विद्यमान राज्य व्यवस्था, सत्ता र सञ्चालकका कारणले देश अस्तव्यस्त बनेको प्रकाण्डको आरोप छ । देशको उन्नति र प्रगतिका लागि व्यवस्था बदल्न जरुरी रहेको र त्यसको अन्तिम विकल्प जनमत संग्रह भएको उनको टिप्पणि छ ।