वडा कार्यालयमा तालाबन्दी
दैलेख : रोजगार कार्यक्रममा स्थानीय युवाहरूलाई नसमेटिएको भन्दै दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालीका वडा नम्बर १ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवाहरूलाई नसमेटिएको भन्दै स्थानीय पवन तामाङको नेतृत्वमा युवाहरूको समूहले बुधबार नै तालाबन्दी गरेको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ३६ जनालाई सिफारिस गरिएको छ । तीमध्ये अधिकांश वडाध्यक्षका नजिकका मानिसहरू रहेको भन्दै युवाहरूले विरोध गरेका हुन् ।
रोजगार कार्यक्रमअन्तर्गत वडा कार्यालयदेखि भिरमान्म सडक निर्माण र कोलडाँडादेखि ध्याप सडक निर्माण योजना छनौट गरिएको छ । जसमा १८÷१८ जनामा विभाजन गरिएको छ । तीमध्ये भिरमान्म सडकअन्तर्गत विवाद भएको हो ।
नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रंगबहादुर तामाङले राजनीतिक आस्थाका आधारमा केही युवाहरूको समूहले वडा कार्यालयमा तालाबन्दी गरेको बताएका छन् । ३ सय ५९ जनाको लिस्टमध्ये जम्मा १८ जना छान्नुपर्ने थियो, उनले भने, हामीले त्यहाँका सबै नागरिकलाई समेटेर कार्यक्रम अघि बढाएका थियौँ । तर केही युवाहरू सीमित स्वार्थमा लागेर तालाबन्दी गर्नु भएको छ ।
कार्यक्रमबारे चित्त नबुजेको अवस्थामा पुनः छनौट गर्नको लागि यहाँका सबै राजनीतिक दलहरूलाई आग्रह गरे पनि त्यो हुन नसकेको बताए । बुधबारदेखि लागेको ताला बिहीबार पनि खुल्न सकेको छैन । वडामा प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताप्रति लक्षित गर्दै तामाङले आफूले सुरुदेखि नै कार्यालयमा चुस्तदुरुस्त काम गरे पनि राजनीतिक स्वार्थका कारण केही मानिसहरूआफ्नो विरोधमा लागेको बताए ।