Loading... आजः शुक्रबार, कार्तिक ९, २०८१
Trending

अन्तरजातीय विवाहका कारण बेहुला बेपत्ता


मुगु  :  अन्तरजातीय विवाह गरेका हुम्ला सर्केगाड–१ जैरगाउँका चन्द्रे कामी एक सातादेखि बेपत्ता छन्। गत बुधबार २९ मंसिर राति करिब २० जनाको समूह घरमै आएर निर्घात कुटपिट गर्दै लगिएका चन्द्रको अवस्था प्रहरीले पत्तो पाउन सकेको छैन।

जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका वडा–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग ५ मंसिरमा भागी बिहे गरेका थिए।
मंसिर २९ गते केटी पक्षका मान्छे कामीका घरै पुगी केटाकेटी दुबैलाई माइतीघरमा ल्याई कुटपिट गरी सार्कीलाई तल्लो जातको मान्छेले ठकुरीको छोरी भगाएको भन्दै बेपत्ता बनाएको सार्कीका आफन्तले आरोप लगाएका छन्।

स्थानीयका अनुसार सुरुदेखि नै सुन्तलीको माइतीपक्षबाट धम्की आएपछि असुरक्षाका कारण उनीहरू सर्केगाड–२ को रिप गाउँमा बस्दै आएका थिए।
सबै छिमेकीका घरमा बाहिरबाट ताला लगाएर आफ्नो घर तोडफोड गरेको र छोरालाई निर्घात कुटपिट गर्दै बुहारीसहित लिएर गएको चन्द्रका बाबु धनञ्जय कामीले बताए।

‘रातमा २० जनाजतिको समूह आएको थियो। जैरगाउँका सबै छिमेकीका घरमा ताला लगाएर मेरो घरमा आक्रमण गरे। ढोका, झ्याल र छतका दाँतीहरू भत्काएर भित्र छिरे। हामीलाई नबोल्न धम्की दिँदै छोरालाई निर्घात कुटे। छोराबुहारीलाई नै घरबाट लिएर गए। कुट्दै घरबाट लगेको छोरा कहाँ, कुन अवस्थामा छ अत्तोपत्तो छैन’, धनञ्जयले गुनासो गरे।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माका अनुसार घरबाट चन्द्रसँगै उठाएर लगिएकी सुन्तली भने माइतीगाउँमै भेटिएकी छिन्। चन्द्रको अवस्था भने अज्ञात रहेको उनले बताए। युवती गाउँमै भेटिएकी छिन् तर युवकको अझै पत्तो लागेको छैन’, शर्माले भने, ‘खोजी तीव्र पारिएको छ।’