Loading... आजः शनिबार, कार्तिक १०, २०८१
Trending

१६७ जना लैङ्गिक हिंसा पीडितले लिए सेवा

दैलेख  :  दैलेखमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) लागुभएयता दुईबर्षे अवधीमा १ सय ६७ जना लैङ्गिक हिंसा पीडितले सेवा लिएका छन् । यूनिसेफ तथा किडार्क नेपालको सहयोगमा स्वास्थ्य सेवा कार्यालयको समन्वयमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सम्वन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो । ओसीएमसीका क्षेत्र, सेवा पाउने प्रक्रियाबारे जानकारी दिँदै दैलेख अस्पतालका डा जीवन ज्ञवालीले १९ देखि ४९ वर्ष उमेर समूहका बलात्कार लगायत यौनजन्य हिंसा घटनासंग सम्बन्धित पीडितले सेवा लिएको बताए ।
२०६८ फागुन २२ गते नेपाल सरकारको निर्णय अनुसार लैंगिक हिंसा नियन्त्रण सम्वन्धी रणनीति अनुसार लागू भएको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) प्रभावकारी बनाउन ७७ वटै जिल्लाका सदरमुकामका अस्पतालमा जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा जिल्ला स्तरीय समन्वय समिति र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ ।

एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) २०७६ देखि सुरु हुँदै आएकोमा नारायण नगरपालिका र दुल्लू नगरपालिकामा मानसिक स्वास्थ्य परामर्श केन्द्र (सीएमसी) को कोभिड रेस्पोन्स परियोजनाले मामिला व्यवस्थापक ओसीएमसीमै राखिदिएकोले सेवाग्राही बढेका छन् ।
अभिमुखीकरण कार्यक्रममा नारायण नगरपालिका उपमेयर सावित्री मल्लले सरकारका नीति तथा कार्यक्रमहरुले पीडितहरुलाई न्याय पाउन र सचेतनाका माध्यमबाट लैङ्गिक हिंसा रोकथाममा सहयोग पुगेको बताएकी छिन् । जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले लैंगिक हिंसाका स्वरुपहरु बदलिंदै दैलेखमा पनि मानव बेचबिखनको समस्या देखिन थालेको औल्याए । दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वर साहले लैंगिक हिंसा रोकथामका लागि प्रहरीले रातादिन काम गरे अनुसार समाज र सरोकारवालाहरुको सहयोग जरुरी रहेको बताए ।साभार ज्वाला सन्देश