एमालेको पालाका नियुक्ति खारेज गर्ने सेटिङ भइसकेको ओलीको दाबी
काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई हटाएपछि आफ्नो सरकारका पालाका संवैधानिक नियुक्तिहरू खारेज गर्ने लगायतका सेटिङ मिलाइ सकिएको सूचना आफूले पाएको बताएका छन् ।
बार पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूसँगको छलफलमा ओलीले असार २८ को परमादेशदेखि नै सेटिङ भएको र अहिले आफू अनुकुल प्रधानन्यायाधीश बनाएर मुद्दाहरू मिलाउन खोजिएको समेत बताए ।
ओलीले भने, ‘एकजना वरिष्ठ अधिवक्ता (शम्भु थापा) ले भन्नुभयो हामीले न्यायाधीश हटाई हटाई अर्का न्यायाधीश राखेर तिम्रो पक्षमा फैसला पार्देको गुन तिर्नु पर्दैन अर्को श्रीमान्को कुरा पनि आयो संविधानबाहिर गएर केपी ओलीलाई हटाउनुपर्यो । अर्को चाहिँ एक पक्षका वकिलहरूमात्र बस्नुभयो अबका मुद्दा के के गर्ने ,कसलाई राजीनामा गराउने , त्यसपछि त्यो बेला भएका नियुक्ति यसो–यसो गर्ने भनेर बसेको होइन , सेटिङ के–के कुरामा थियो , कुन–कुन वस्तुका लेनदेन भए तपाईंहरूले नै पोल खोलाखोल गरिरहनुभएको छ ।’
प्रधानन्यायाधीश चोलेन्द्र हटाएर के के गर्ने भन्ने तय भइसकेकोले आफू व्यक्तिको पछि नलाग्ने उनले प्रष्ट पारे । ओलीले बारको माग न्यायपालिका सुधारको लागि २० प्रतिशतमात्र रहेको भन्दै १०० पुर्याएर ल्याउन सुझाव दिए । उनको संकेत परमादेश जारी गर्ने पाँचै न्यायाधीशविरुद्ध महाअभियोगको माग ल्याउनुपर्ने बुझिन्छ ।