चार मन्त्रालय नपाए कर्णाली सरकारबाट माओवादी बाहिरिने
सुर्खेत : कर्णालीमा मन्त्रालय भागबण्डाको किचलो झन् बढ्ने देखिएको छ । कर्णाली प्रदेश माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सबैभन्दा ठूलो दलको नाताले कम्तिमा चार मन्त्रालय नपाए सरकारबाट बाहिरिने बताएसँगै मन्त्रालय भागबण्डाको विषय थप पेचिलो बनेको हो । माओवादीको समर्थनमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले भने कुनै पनि हालतमा माओवादीलाई चार मन्त्रालय दिन नसकिने बताइरहेका छन् ।
विश्वासको मत लिनकै लागि मुख्यमन्त्री शाहीले केही दिनअघि माओवादीबाट एक जनालाई मन्त्री बनाएका छन् । मुख्यमन्त्री शाहीले माओवादीका विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाएका हुन् । तर अब थप तीन मन्त्री नपाए माओवादीले विष्टलाई पनि सरकारबाट फिर्ता बोलाउने शाहीले बताए । यहाँ एकीकृत समाजवादीबाट चन्द्रबहादुर शाही भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।
कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले मन्त्रालय भागबण्डाको किचलो नमिलेकै कारण मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । यहाँ प्रमुख सत्तारुढ दल नेकपा माओवादीले चार मन्त्रालयमा दाबी गरिरहेको छ भने नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय मागिरहेको छ । काँग्रेसले पनि मुख्यमन्त्रीसहित तीन मन्त्रालय दाबी गरिरहेको छ । जसकारण भागबण्डा मिल्न सकेको छैन ।
‘हामी सबैभन्दा ठूलो दल भएका कारण चार मन्त्रालयमा दाबी गर्नु अनौठो होइन’, नेकपा माओवादी संसदीय दलका नेता शाहीले भने, ‘चार मन्त्रालय नपाए हामी सरकारमा जाँदैनौं, एक मन्त्रीलाई पनि फिर्ता बोलाउँछौं । शेरबहादुर थापा