बिमानस्थलबाट फर्काइए किरण गजमेर
काठमाडौं : सांगीतिक रियालिटी सो द भ्वाइस अफ नेपालको तेस्रो संस्करणका विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । उनको भिसाको म्याद सकिएकाले अध्यागमन कार्यालयले उनलाई सोमबार त्रिभुवन विमानस्थलबाट फर्काइदिएको हो ।
भुटानी शरणार्थीका रुपमा नेपाल आएका गजमेर पछिल्लो समय अमेरिकामा बसोबास गर्छन् । उनी अमेरिकी नागरिक भइसकेकाले नेपालको भिसा लगाएर भ्वाइस अफ नेपालमा भाग लिन आएका थिए । तर, उनको भिसाको म्याद गुज्रिसकेको अध्यागमन कार्यालयले जनाएको छ ।
नेपाल प्रेससँग कुरा गर्दै प्रमुख अध्यागमन अधिकृत शिशिर वैद्यले गजमेरलाई अध्यागमनबाटै फिर्ता गरिएको जानकारी दिए । ‘उहाँ टुरिस्ट भिसामा नेपाल आएर २७० दिन बस्नुभएको रहेछ । यस्तो भिसामा विदेशीहरु नेपालमा जम्मा १५० दिन मात्र बस्न पाउँछन्’ उनले भने ।
वैद्यका अनुसार गजमेर भिसा अवधिभन्दा १३० दिन बढी बसेका हुन् । गत सोमबार कतार एयरवेजको क्यूआर ६५० कलसाइनको जहाजमा गजमेर अमेरिकाबाट काठमाडौं आएका थिए । त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनलाई अध्यागमनले सोधपुछ गरेको थियो ।
‘उहाँ हामीसँग सोधपुछबिनै आउनुभएको थियो, त्यसैले जुन जहाजमा आउनुभएको थियो त्यसमै फिर्ता पठाइसक्यौं’ वैद्यले भने । अध्यागन नियमअनुसार गजमेर अब सन् २०२२ को जनवरीमा मात्र नेपाल आउन पाउनेछन् ।
‘सबैलाई नियम(कानून बराबर हुन्छ, सेलेव्रिटी भने छुट हुँदैन’ वैद्यले भने । भुटानी शरणार्थीको आप्रवासनका क्रममा परिवारसहित अमेरिका गएका गजमेरले त्यहीँको नागरिकता लिएका थिए । साभार नेपालप्रेस