Loading... आजः शनिबार, जेष्ठ २, २०८३
Trending

तीज पर्वको मौलिकता कायम राख्नुपर्छ : राष्ट्रपति


काठमाडौं  :  राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई एकताको सूत्रमा आवद्ध गर्न मद्दत पुर्‍याउने बताएकी छन्। नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्त्वपूर्ण स्थान रहेको उल्लेख गरेकी हुन्।

तीज पर्वले चेली–माइती‚साथी–सङ्गी‚परिवार एवं आफन्तजन बीचको सम्बन्धलाई प्रगाढ बनाउने उनको भनाई छ। तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न भड्‌किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको बताइन्।
उनले समाजमा विद्यमान महिलाविरूद्ध हुने सबै प्रकारका विभेद हटाएर प्रगतिशील समाजको निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन्।

ुहरितालिका तीजले हाम्रो समाजमा विद्यमान महिलाविरूद्ध हुने सबै प्रकारका विभेद र असमानताहरूको अन्त्य गर्दै सभ्य‚समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।ु जारी सन्देशमा भनिएको छ, कोभिड(१९ को सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्दै सावधानीका साथ यो चाड मनाउनु हुनेछ भन्ने आशा गर्दछु ।

भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव–पार्वतीको र पञ्‍चमीका दिन सप्तऋषिको पूजा‚ उपासना गर्नाले मनोकामना पूरा हुने विश्‍वास रहिआएको छ। विवाहपश्चात् महिलाहरू आफ्नो जन्मघर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाजलाई छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा समेत तीज पर्वलाई महिलाहरूले लिएको पाइन्छ।