Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

दैलेखमा जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइयो

फोटा साभार

दैलेख  :  साउन शुक्ल पूर्णिमाका दिन जनैपुणीमा तथा रक्षाबन्धन पर्व दैलेखमा मनाइएको छ । चुडाकर्म सम्पन्न गरेका आमतागाधारीले वैदिक मन्त्रोच्चारण गरिएको यज्ञोपवित अर्थात् रक्षासूूत्र धारण गरेर जनैपूर्णिमा चाड मनाउँदै छन् । चूूडाकर्म नगरेकाले पनि नाडीमा डोरो बाँध्ने चलन छ । जनैको ६ शिखालाई ब्रह्मा, विष्णु, महेश्वर र ज्ञान, कर्म, योगका रूपमा सनातन धर्मावलम्बीले मान्दै आएका छन् । जनैलाई ब्रह्म सूत्र वा ज्ञानको धागो मानिन्छ । राक्षसद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर संरक्षण गरेको पौराणिक कथा यो चाडसँग जोडिएको छ ।

वामन अवतार विष्णुले राजा बलीलाई मन्त्र साँधिएको डोरो बाँधेर वचनबद्ध गराएर तीनै लोक लिएको कथा पनि यो चाडसँग जोडिन्छ । यसै दिन सप्तऋषि काश्यप, अत्रि, गौतम, भारद्वाज जमदग्नी, वाशिष्ठ र विश्वमित्रलाई कुश, कालो तिल र जलले तर्पण दिइने भएकाले ऋषि तर्पणीका रूपमा पनि यो चाड मनाइँदै आएको छ । चाडको अघिल्लो दिन केश मुन्डन गरी टाउकोमा गोबर र तुलसी रोपिएको माटोले स्नान गरेर तागाधारीहरू एकछाके रहेका थिए ।

चाड मनाउन एक दिनअगावै पशुपतिनाथ, गोसाइँकुण्ड स्नानमा जानुहुने भएकाले जनैपूर्णिमाका दिन पशुपतिनाथ मन्दिरका चारै ढोका बन्द रहन्छ । यसै दिन मधेसमा दाजुभाइले दिदीबहिनीलाई राखी बाँधेर दीर्घायुको कामना गर्ने प्रचलन छ ।
यसैबीच, जनैपूर्णिमाको एक दिनअघि पशुपतिनाथको जनै फेराउने प्रचलनअनुसार शनिबार नै पशुपतिनाथका मूूल पुजारीले नाथको जनै फेर्नुभयो ।

पशुपति मन्दिरवरिपरि वैदिक मन्त्रोच्चारण गरिएको काँचो धागो बाँधेर मन्दिरलाई स्वच्छ राखियो ।मूल पुजारीद्वारा मन्त्रणा गरिएको जनै फेराएपछि पशुपतिनाथ शनिबार गोसाइँकुण्ड स्नानका लागि जानुहुन्छ भन्ने मान्यता छ । गोसाइँकुण्ड स्नान गरेर यहाँ फिर्ता नहुन्जेल पशुपतिनाथ मन्दिर आइतबारमात्र खुल्छ । यसो भए पनि कोरोना सङ्क्रमणबाट बच्नरबचाउन पशुपतिनाथ मन्दिर सर्वसाधारणको दर्शनका लागि बन्द नै रहेको छ । पशुपतिनाथ अमालकोट कार्यालयका द्वारे पूर्ण डङ्गोलका अनुसार जनै फेराउने यो सरकारी पूजा हो ।