कर्णालीमा वेपत्ता तीनमध्ये एक महिलाको शव फेला
सुर्खेत : कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये एक महिलाको शव फेला परेको छ । कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव फेला परेको हो ।
सलामीको शव घटनास्थलदेखि तीन सय मिटर तल फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख पदमबहादुर विष्टले जानकारी दिए । उनका अनुसार नदीमा बेपत्ता भएका दुइ जनाको खोजी गर्न इलाका प्रहरी कार्यालय बाबियाचौर र सुगरखालबाट गएको टोलीले जारी राखेको छ ।
कैलालीको मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान डुंगा पल्टिँदा महिलासहित तीनजना बेपत्ता भएका थिए । उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेतको विजौरा जाँदै गर्दा दुर्घटनामा परेको हो । १० जना सवार रहेको डुंगा पल्टिँदा दुई जना घाइते भएको र पाँच जनाको सकुशल उद्धार गरिएको थियो । साभार नेपाली रैवार