Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

विद्यार्थीमा भाइरल ज्वरो देखिए पछि विद्यालय बन्द


दैलेख  :  विद्यार्थीमा भाइरल ज्वरो देखिए पछि विद्यालय तीन दिन सम्मका लागि बन्द गरिएको छ । जिल्लाको नारायण नगररपालिका –५ मा रहेको नवदुर्गा निमावि विद्यालय तीन दिन सम्मका लागि बन्द गरिएको हो । विद्यालयका प्रधानाध्यापक घनश्याम रेग्मीले विद्यार्थीमा ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको जानकारी दिए । उनले आइतबार करीब १५०, सोमबार करीब १०० र मङ्गलबार ८५ विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय बन्द गरिएको बताए ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख थीर प्रसाद रेग्मीले विद्यार्थी बिरामीले ग्रसित भएको खबर पाएपछि डा बिवेक गुरुङको टोली त्यहाँ पुगेर बालबालिकाको स्वास्थ्य परिक्षण गरेर तीन दिन विद्यालय बन्द गर्न सुझाव दिएको बताए । उनले तीन दिन सम्म विद्यालय बन्द गर्न र विद्यँर्थीलाई आवश्यक औषधी दिएर हेर्न सुझाव दिए पछि विद्यालय बन्द गरिएको बताए ।

बिरामी सबैलाई जाँच गरी औषधि दिएर घरमा आराम गर्न सुझाव दिइएको उपचारमा खटिनुभएका डा गुरुङले जानकारी दिए । यो अन्य कुनै महामारी नभई भाइरल ज्वरो भएको जनाइएको छ । हाल सबै बिरामीलाई औषधि दिइएको र आराम गर्न सुझाव दिइएको जनाउँदै डा गुरुङले विस्तारै औषधिले काम गर्ने हुँदा धेरै आत्तिनु नपर्ने बताए ।
नारायण नगरपालिका –५ का वडा अध्यक्ष दल बहादुर बस्नेतले सयौंँ विद्यार्थी दुई दिनदेखि बिरामी पर्दा निकै चिन्तित भएको बताए । उनले कोरोनाको जोखिम पुन बढेको बेला सबै बिद्यार्थी बिरामी भएपछि चिन्तीत बनाएको भएपनि डाक्टर सहितको टोलीले परिक्षण गरेपछि ढुक्क भएको बताए ।
नारायण नगरपालिका –५ त्रिबेणी स्वास्थ्यचौकीका प्रमुख षडानन्द शर्माले विद्यालय बन्द भएपनि वडामा रहेको सबै स्वयमसेविकालाई परिचालन गरेर बालबालिकाको अवस्था र आवश्यक औषधीको व्यवस्था गरिएको बताए ।