अस्पताल निर्माण गर्न स्थानीयले गरे २८ रोपनी जग्गादान
दैलेख : जिल्लाको आठबिस नगरपालिका –४ राकमकर्णालीमा निर्माण हुन लागेको एक सय शैय्या ट्रमा सेन्टर सहितको अस्पतालका लागि २८ रोपनी जग्गा दान गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, कर्णाली प्रदेश सरकार र नगरपालिकाको संयुक्त रुपमा व्यवस्थापन हुने एक सय शैय्याको अस्पतालका लागि कुमालखाँडावासी १८ जना स्थानीयले २८ रोपनी जग्गादान गरेका हु्न ।
ट्रमा सेवासहितको एक सय शैय्याको अस्पतालको लागि ४० रोपनी क्षेत्रको जग्गा आवश्यक भएकोमा २८ रोपनी जग्गा निःशुल्क प्राप्त भई बाँकी जग्गा लिन तयारी गरिएको आठबिस नगरपालिकाले जानकारी दिएको छ । आठबिस नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले प्रतिष्ठान र नगरपालिकाको संयुक्त पहलमा यही फागुन १० गते सोमबारका दिन जग्गा दाताहरुबाट अस्पतालको नाममा जग्गा पास भएको बताए । उनले४० रोपनि जग्गा मध्ये २८ रोपनी प्राप्त भएको र बाँकी जग्गा खरिद गर्ने वा के गर्ने भन्ने विषयमा छलफल भईरहेको बताए ।
स्वास्थ्य शाखा प्रमुखका अनुसार राकम कर्णालीमा एक सय शैय्याको अस्पताल निर्माणार्थ विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलयाले चालु आव.०७७÷०७८ मा रु.एक करोड ४० बजेट विनियोजन गरिसकेको छ । अस्पताल निर्माणका लागि नगरपालिका र प्रतिष्ठानबीच विसं.२०७६ फागुन १० गते सम्झौता भएको थियो ।
एक सय शैय्याको अस्पताल निर्माण भए दैलेखको अछाम, कालीकोट लगायतका अन्य जिल्लाले समेत सेवा पाउने छन । केही वर्षभित्रै राकमबाटै नागरिकहरुले गुणस्तर स्वास्थ्य उपचार सेवा लिने पाउने छन । अस्पताल निर्माण हुँदै गरेको आठबिस नगरपालिकाको उच्चतम संभावना बोकेको स्थान राकम कर्णालीलाई नेपाल सरकारले घोषणा गरेको १० वटा नयाँ सहर भित्र पर्दछ ।
स्वास्थ्य शाखा प्रमुख तिमिल्सेनाले ४० रोपनि जग्गा उपलब्ध भए पछि जग्गादातारुलाई सम्मान गर्ने र त्यतिबैले नै सबै जग्गाधनीको नाम सार्वजनिक गर्ने जानकारी दिए ।