Loading... आजः सोमवार, कार्तिक १०, २०८३
Trending

गाउँ सुनसान हुँदा हराउँदै लिङ्गेपिङ

दैलेख  :  दसैँतिहारमा दैलेखको भगवतीमाई गाउँपालिका–२ स्थित चिउरागाउँमा छुट्टै रौनक हुने गथ्र्यो । लाहुरे घर फर्किने, रोजगारीका लागि भारत गएका आफन्त दसैँ मनाउन गाउँ आउने र परदेसिएका परिवारका सदस्यसँग भेटघाट हुँदा गाउँ उत्सवमय बन्थ्यो । घर घरमा चहलपहल हुन्थ्यो, आँगनमा आफन्तको जमघट लाग्थ्यो । समयसँगै गाउँको त्यो रौनक अहिले हराउँदै गएको छ ।

२५ परिवारको बसोबास रहेको चिउरागाउँमा अहिले सात परिवार मात्रै बाँकी छन् । गाउँ रित्तिँदै जाँदा दसैँको खुसीसँग जोडिएको लिङ्गेपिङको परम्परा पनि हराउन थालेको छ । कुनै समय दसैँ आउनुअघि नै गाउँलेलाई पिङ हाल्ने चटारो हुन्थ्यो । गाउँका प्रत्येक घरबाट एकरदुई मुठा बाबियो जम्मा गरिन्थ्यो । सबै मिलेर रातभरि बाबियो बाटेर गाउँको बिचभागमा रहेको तिदुको रुखमा लिङ्गेपिङ हालिन्थ्यो । पिङ हाल्ने काम केवल मनोरञ्जनका लागि मात्र थिएन, त्यो गाउँलेलाई एकै ठाउँमा जोड्ने बहाना पनि थियो । कामको सिलसिलामा टाढा पुगेका आफन्त गाउँ फर्किएपछि पुराना साथीभाइसँग भेट हुने, हाँसोठट्टा चल्ने र बालबालिकादेखि बुढापाकासम्म रमाउने वातावरण बन्थ्यो ।

दसैँको दिन टीका लगाएपछि पिङ खेलेर भुइँ छाड्नुपर्ने मान्यता थियो । युवकयुवती पिङमा मच्चिन्थे, बालबालिका पालो कुरेर बस्थे भने दसैँमा माइत आएका चेलीबेटीसमेत पिङ खेल्न पुग्थे । पिङ हाल्ने डाँडा गाउँलेको भेटघाट र रमाइलो गर्ने साझा थलो बन्थ्यो । दसैँको खुसी, आफन्तसँगको भेट र गाउँको सामूहिक जीवनलाई एउटै डोरीमा गाँसे जस्तो लाग्थ्यो तर अहिले त्यो दृश्य सम्झनामा मात्रै सीमित हुँदै गएको छ ।

रोजगारी र अन्य अवसरको खोजीमा गाउँ छाड्ने व्रmम बढेपछि गाउँ रित्तिँदै गएको छ । गाउँमा मानिसको सङ्ख्या घटेपछि पिङ हाल्ने र खेल्ने चलनसमेत हराउँदै गएको छ । भगवतीमाई गाउँपालिका–२, चिउराका खड्ग शर्मालाई गाउँको यही बदलिँदो दृश्यले खल्लो बनाएको छ । पहिले दसैँमा गाउँले मिलेर पिङ हाल्ने र रमाइलो गर्ने गरेको सम्झँदै उहाँले अहिले पिङ हाल्न नसक्दा गाउँको रौनक नै हराएको बताउनुभयो । “अहिले पिङ हाल्न नसक्दा पिङ हाल्ने डाँडै सुनसान भएको छ । गाउँमा पिङ नहुँदा दसैँ खल्लो महसुस भएको छ,” शर्माले भन्नुभयो । भगवतीमाई–२, चिउराका दीपक उपाध्यायले गाउँका अधिकांश बस्ती बसाइँ सरी बाहिर गएपछि बाबियो काट्ने र पिङ बाट्ने युवा नै नभएको बताउनुभयो । चिउरागाउँको कथा एउटा पिङ नहालिएको कथा मात्रै होइन । यो गाउँसँगै टाढिँदै गएको आफन्तको सामीप्य, पातलिँदै गएको गाउँलेको जमघट र बिस्तारै ओझेल पर्दै गएको सामूहिक संस्कृतिको कथा पनि रहेको उहाँको भनाइ छ ।

अहिले डाँडा रित्तो छ, गाउँका धेरै घरमा ताला लागेका छन् र चाडपर्वको रौनक पहिले जस्तो छैन । गाउँमा दसैँ त आउँछ तर विगतमा जस्तो गाउँलेको जमघट र उल्लास फर्किन सकेको छैन ।