Loading... आजः शनिबार, कार्तिक १, २०८३
Trending

न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल दैलेखले प्राप्त ग¥यो ८४ अंक


दैलेख  :  जिल्ला अस्पताल दैलेखले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा ८४ अंक प्राप्त गरेको छ । स्वास्थ्य सेवा निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेतको आयोजनामा आयोजित कार्यक्रममा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यविधि, २०७७ अनुसार विभिन्न सूचकको मूल्याङ्कन गर्दा अस्पतालले उक्त अंक प्राप्त गरेको हो ।
आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य संस्थाबाट प्रदान गरिने प्रवद्र्धनात्मक, प्रतिरोधात्मक, उपचारात्मक तथा पुनस्र्थापनात्मक सेवाको व्यवस्थापन सुदृढ गर्न न्यूनतम सेवा मापदण्डको अनुगमन तथा मूल्याङ्कन गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार गरिएको मूल्याङ्कनमा जिल्ला अस्पताल दैलेखले अघिल्लो मूल्याङ्कनको तुलनामा २ अंक सुधार गरेको छ । अघिल्लो पटक अस्पतालले ८२ अंक प्राप्त गरेको थियो ।
जिल्ला अस्पताल दैलेखका कार्यालय प्रमुख डा. मनोज विश्वकर्माले पछिल्लो ६ महिनाको अवधिमा अस्पतालले आफ्नो नतिजामा सुधार गर्न सफल भएको बताउनुभयो । भवन अभावलगायतका चुनौतीका बीच अस्पतालले अंक वृद्धि गर्न सफल भएको उहाँको भनाइ छ । अस्पतालमा भौतिक पूर्वाधारको अभावका कारण सेवा प्रवाहमा चुनौती रहेको उल्लेख गर्दै डा. विश्वकर्माले दुई जना चिकित्सकलाई एउटै कोठामा राखेर बिरामीको स्वास्थ्य परीक्षण गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । बिशेषज्ञ चिकित्सक नुहँदा समेत अस्पतालले न्यूनतम सेवा मापदण्डमा लगातार अंक वृद्धि गर्न सफल भएको भन्दै उहाँले सुधारका लागि खटिने सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिनुभयो ।
नतिजा सार्वजनिक कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीले आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्डको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक परीक्षण तथा अस्पताल भवनको अभावजस्ता समस्याका कारण अस्पतालले अपेक्षित अंक प्राप्त गर्न केही चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै आगामी वर्ष अझ सुधार गरी बढी अंक प्राप्त गर्न सकिने बताउनुभयो । अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अघिल्लो मूल्याङ्कनमा ८२ अंक प्राप्त गरेको जिल्ला अस्पताल दैलेखले पछिल्लो मूल्याङ्कनमा ८४ अंक हासिल गर्नुले सेवा मापदण्ड कार्यान्वयनमा सुधार भएको देखाएको छ। यद्यपि, भौतिक पूर्वाधारको अभावलगायतका चुनौती समाधान गर्दै स्वास्थ्य सेवाको गुणस्तर थप सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ ।