Loading... आजः आइतवार, फाल्गुन १०, २०८२
Trending

मतदानमा सहभागी हुन मतदातालाई निमन्त्रणापत्र


दैलेख  :  प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मतदातालाई मतदानमा सहभागी गराउन दलहरू सक्रिय बनेका छन् । यसैक्रममा नेकपा (एमाले)ले दैलेख निर्वाचन क्षेत्र नं. १ का मतदातालाई भावनात्मक अपिलसहित निमन्त्रणापत्र पठाएको छ । उक्त पत्र प्रतिनिधि सभा सदस्यका उम्मेदवार रबिन्द्रराज शर्माद्वारा हस्ताक्षर गरिएको हो । नारायण नगरपालिका, महाबु, नौमुले, भगवतीमाई, डुङ्गेश्वर र गुराँस गाउँपालिकाका मतदातालाई लक्षित गर्दै पठाइएको पत्रमा लोकतन्त्रको रक्षा र विकासको यात्रामा साथ दिन आग्रह गरिएको छ ।
पत्रमा लेखिएको छ विषम परिस्थितिका बीच हुन गइरहेको निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै बिहान सबेरै मतदान केन्द्रमा पुगेर आफ्नो अमूल्य मत प्रयोग गर्न भावनात्मक अनुरोध गरिएको छ । देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता, अखण्डता र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि नागरिकको सहभागिता नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरिएको छ ।
पत्रमा दैलेख क्षेत्र नं. १ को समग्र विकास, रोजगारी सिर्जना, आधारभूत सेवा विस्तार र उज्यालो भविष्य निर्माणका लागि सूर्य चिन्हमा मतदान गर्न आह्वान गरिएको छ । “तपाईंको एक मतले भविष्यको दिशा निर्धारण गर्छ,” भन्ने भावनात्मक सन्देशमार्फत मतदातालाई जिम्मेवारी बोध गराउने प्रयास गरिएको देखिन्छ ।
उम्मेदवार शर्माले यो निर्वाचनलाई सामान्य राजनीतिक प्रक्रिया मात्र नभई विकास र स्थायित्वको आधार निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ । उहाँले लोकतन्त्रको उत्सवमा अनिवार्य सहभागी भई मतदान गर्न सबै मतदातालाई हार्दिक अपिल गर्नुभएको छ । निर्वाचन मिति नजिकिँदै जाँदा मतदातालाई आकर्षित गर्न भावनात्मक सन्देश, घरदैलो र प्रत्यक्ष संवादका कार्यक्रमहरू तीव्र अन्य राजनितिक पार्टीहरुले गर्दै आएका छन ।