Loading... आजः सोमवार, माघ २७, २०८२
Trending

चार उम्मेदवार बिच रोचक प्रतिष्पर्धा

..

दैलेख  :  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन दैलेख निर्वाचन क्षेत्र नं. २ मा चार राजनीतिक धारबीचको रोचक र कडा प्रतिस्पर्धाका रूपमा देखिएको छ । विगतका निर्वाचनको परिणाम, दलहरूको रणनीति र उम्मेदवारको राजनीतिक पृष्ठभूमिले यस क्षेत्रलाई चासोको केन्द्र बनाएको छ ।
नेकपा (एमाले) यस निर्वाचनमा हारेको सिट फर्काउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको छ । २०६४ सालदेखि लगातार तीन वटा निर्वाचन जितेको एमाले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनसँग ८० मतको मतान्तरले पराजित भएको थियो । एमालेका उम्मेदवार लक्ष्मी प्रसाद पोखरेल संविधानसभा सदस्य भइसकेका अनुभवी नेता हुनुहुन्छ । पार्टीले विगतमा प्राप्त गरेको जनमत र संगठनात्मक आधारलाई पुनः एकताबद्ध गर्न सके आफ्नो राजनीतिक बिरासत फर्किने विश्वास लिएको छ । पोखरेलले अघिल्ला निर्वाचनमा प्राप्त मतका आधारमा यसपटक जित सुनिश्चित हुने दाबी गर्नुभएको छ ।
नेपाली काँग्रेस भने यस निर्वाचनमा आफ्नो बिरासत जोगाउने दाउमा देखिएको छ । २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँगको गठबन्धनको सहयोगमा विजयी बनेको काँग्रेसले यसपटक पनि सोही सफलता दोहोर्याउने लक्ष्य लिएको छ । काँग्रेसले अघिल्लो निर्वाचनमा विजयी भएका केन्द्रीय सदस्य दिक्पाल कुमार शाहीलाई पुनः उम्मेदवार बनाएको छ । शाहीले निर्वाचन क्षेत्र नं. २ को दुल्लु क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवारीका कारण एमालेको मत विभाजित हुने र त्यसले काँग्रेसलाई फाइदा पुग्ने दाबी गर्नुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने यस निर्वाचनलाई ह्याट्रिक गर्ने अवसरका रूपमा लिएका छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार योगेन्द्र बहादुर शाही पूर्व एमाले नेता हुनुहुन्थीयो । २०७९ सालको प्रदेशसभा निर्वाचनमा एमालले टिकट नदिएपछि माओवादी केन्द्रमा प्रवेश गरी उम्मेदवार बनेर पराजित हुनुभएको थियो । पराजीत हुनुभएका शाहीलाई कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनुभएको थियो । काँग्रेस र एमालेको मत रास्वपाले काट्ने सम्भावनालाई आफ्नो पक्षमा उपयोग गर्दै नेपाली कम्युनिष्ट पार्टी पहिलो पटक यस क्षेत्रमा विजयी हुने रणनीतिमा देखिएको छ ।
रास्वपाका उम्मेदवार बखत बहादुर शाही नयाँ राजनीतिक शक्तिको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । पुराना दलप्रतिको असन्तुष्टि र परिवर्तनको चाहनालाई मतमा रूपान्तरण गर्न सकिने विश्वास रास्वपाले लिएको छ । यसरी दैलेख निर्वाचन क्षेत्र नं. २ मा काँग्रेसको विरासत जोगाउने प्रयास, एमालेको पुनरागमनको चाहना, र नेपाली कम्युनिष्ट पार्टी तथा रास्वपाको नयाँ इतिहास रच्ने कसरतबीच बहुकोणीय र कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।