Loading... आजः सोमवार, माघ २७, २०८२
Trending

सूचना दिन कन्जुस्याइँ गर्नु हुँदैन : प्रमुख आयुक्त आचार्य


दैलेख  : राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यले सूचना माग गर्दा सार्वजनिक निकायले कन्जुस्याइँ गर्न नहुने स्पष्ट पार्नुभएको छ । सूचनाको हक अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उहाँले दिन नमिल्ने बाहेकका सबै सूचना नागरिकलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
बिहीबार जिल्ला प्रशासन कार्यालय दैलेखको आयोजना तथा जिल्ला हुलाक कार्यालय दैलेख र हुलाक निर्देशनालय सुर्खेतको समन्वयमा आयोजित सूचनाको हकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख आयुक्त आचार्यले सूचनाको हक प्रत्येक नागरिकको मौलिक अधिकार भएको बताउनुभयो । “दिन मिल्ने सूचना लुकाउनु कानून विपरीत हो,” उहाँले भन्नुभयो ।
सूचना प्रवाह सहज बनाएर सार्वजनिक सेवा पारदर्शी र जवाफदेही बनाउन सूचनाको हक प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो । सूचना अधिकारीले दिन मिल्ने र नमिल्ने सूचनाको स्पष्ट वर्गीकरण गरी दिन मिल्ने सूचना समयमै उपलब्ध गराउनुपर्ने उहाँले निर्देशन दिनुभयो । सूचना माग गर्ने व्यक्तिले उद्देश्य खुलाएर विवरण मागेमा तत्काल दिन मिल्ने सूचना तत्काल र समय लाग्ने सूचना तोकिएको समयसीमाभित्र दिन सबै कार्यालय प्रमुख र सूचना अधिकारीलाई आग्रह गर्नुभयो । सूचना माग गरेअनुसार सूचना नदिएमा आयोगले सम्बन्धित कर्मचारीमाथि कारबाही गर्ने कानुनी व्यवस्था रहेको पनि उहाँले स्मरण गराउनुभयो ।
कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले सूचनाको हकले सेवा प्रवाहलाई सेवामैत्री, पारदर्शी र जवाफदेही बनाउने बताउनुभयो । उहाँले हरेक कार्यालयले तीन–तीन महिनामा आफ्ना कामकारबाही स्वतः प्रकाशन गरी नागरिकलाई जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले सबै कार्यालय तथा संघ–संस्थामा सूचना अधिकारी तोकिएको जानकारी दिनुभयो। उहाँले मौखिक रूपमा दिन मिल्ने बाहेकका सूचनाका लागि प्रक्रिया अनुसार निवेदन दिनुपर्ने स्पष्ट पार्नुभयो । अभिमुखीकरण कार्यक्रममा संघीय, प्रदेश, जिल्ला र संस्थानका कार्यालयका ५० जनाभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुख निर्मला थापाले जानकारी दिनुभयो ।