Loading... आजः सोमवार, माघ २७, २०८२
Trending

खुल्यो मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय


दैलेख :  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि दैलेखमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत जिल्ला अदालत दैलेखमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको उद्घाटन गर्दै दैलेख जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै जिम्मेवार निकायको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले निर्वाचन सफल बनाउन जिल्लाका राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको जानकारी दिनुभयो ।

यसअघि महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि सम्पन्न उपनिर्वाचन स्वच्छ, मर्यादित र शान्तिपूर्ण ढंगबाट सम्पन्न गरिएको स्मरण गर्दै उहाँले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन पनि सोही मापदण्डअनुसार सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । मुख्य निर्वाचन अधिकृत पाण्डेले निर्वाचन आचारसंहिता शून्य सहनशीलताका साथ कार्यान्वयन गर्दै स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न निर्वाचन प्रशासन पूर्ण रूपमा तयार रहेको बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापनामा दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना संगै मुलुक निर्वाचनको सुनिश्चितता तर्फ अगाडी बढेको बताउँदै सोही अनुसारको सुरक्षा रणनितिहरु तयार पारी कार्यान्वयन तर्फ उन्मुख रहेको बताउनुभयो । उहाँले निर्वाचनलाई स्वच्छ मर्यादित र निश्पक्ष रुपमा सम्पन्न गर्नका लागी जिल्ला प्रशासन कार्यालयले गर्नुपर्ने कामहरु गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो हामी निर्वाचनलाई भयरिहत वाताबरणमा सम्पन्न गर्न सबै सरोकारवाला निकाय संग समन्वय गरिरहेको छौँ ।

यसैबीच, दैलेख निर्वाचन क्षेत्र नं. २ का लागि निर्वाचन अधिकृतमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव लोकहरी कँडेललाई नियुक्त गरिएको छ । दैलेखका दुवै निर्वाचन क्षेत्रमा कुल १ लाख ६१ हजार २०४ मतदाता रहेका छन् भने १३९ मतदान स्थल र २०८ मतदान केन्द्र निर्धारण गरिएका छन । त्यस्तै दैलेख निर्वाचन क्षेत्र नः २ को दुल्लुमा समेत निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।