Loading... आजः सोमवार, माघ २७, २०८२
Trending

डिजिटलमैत्री गाउँपालिका बनाउन दूरसञ्चारसँग समझदारी


कमल शर्मा
दैलेख  :   भगवतीमाई गाउँपालिकालाई डिजिटलमैत्री गाउँपालिका निर्माण गर्ने उद्देश्यले गाउँपालिकाले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतसँग समझदारी गरेको छ । समझदारीअनुसार गाउँपालिकाका प्रत्येक वडा, विद्यालय तथा स्वास्थ्य संस्थामा इमेल–इन्टरनेटको पहुँच विस्तार गरी सेवा प्रवाहलाई प्रविधिमैत्री, छिटो र प्रभावकारी बनाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले सुचना प्रविधिको युगमा सूचना तथा प्रविधिको पहुँच विस्तार गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सुचना प्रविधिको सदुपयोग गर्दै शिक्षा,स्वास्थ्य तथा स्थानीय तहका सेवामा सुधार ल्याउने उद्देश्यले नेपाल दुरसञ्चार संग समझदारी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो गाउँपालिकाका धेरै विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयमा इन्टरनेट सेवा सीमित रहेको अवस्थामा दैनिक सेवा प्रवाहमै समस्या देखिन्थ्यो । स्वास्थ्यकर्मीलाई अनलाइन रिपोर्टिङ र सूचना आदान–प्रदानमा समस्या तथा सेवाग्राहीलाई वडा कार्यालयमा सेवा लिन ढिलाइ हुने अवस्था थियो । यही यथार्थलाई परिवर्तन गर्ने उद्देश्यले गाउँपालिकाले फाइबर इन्टरनेटलाई दीर्घकालीन समाधानका लागी पहल गरेको हो ।

गाउँपालिकाका सुचना अधिकारी प्रेमबहादुर खड्काले फाइबर नेट विस्तारसँगै गाउँपालिकालाई डिजिटलमैत्री गाउँपालिकाको रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले गाउँपालिकालाई डिजिटलमैत्री बनाएर आगामी दिनमा अनलाइन सेवा, डिजिटल अभिलेख व्यवस्थापन तथा कागजरहित प्रणालीलाई स्थापीत गर्ने बताउनुभयो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख कमल लामिछानेले ग्रामीण बस्तीमा इन्टरनेट सेवा विस्तार गर्दा लागत बढी लाग्ने भएकाले प्रारम्भिक चरणमा गाउँपालिकाले लगानीको सुनिश्चितता गर्ने सहमति अनुसार समझदारी गरिएको बताउनुभयो । उहाँले पहिलो चरणमा गाउँपालिकाका सबै विद्यालय,वडाकार्यालय र स्वास्थ्य सस्थामा इमेल इन्टरनेट जडाका लागी प्राविधिकले लागत स्टमेट तयार गरेपछि गाउँपालिका र नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको लागत साझेदारीका विषयमा छलफल हुने बताउनुभयो । उहाँले भन्नुभयो दुर्गम गाउँमा फाइवर नेट विस्तार गर्दा लागत धेरै लाग्ने समस्या रहेको छ ।

फाइवर नेट विस्तार र दिगोपनाका लागी गाउँपालिकाले नै विस्तारीत कार्ययोजना ल्याउने र त्यसका आधारमा ग्राहक धेरै भएको खण्डमा गाउँपालिकाको लागत साझेदारीको आवश्यकता नरहने प्रमुख लामिछानेको भनाइछ । फाइवर नेट विस्तार भएपछि त्यस बाटै इन्रनेट नपुग्ने ठाउँमा फोरजी सेवा विस्तार गर्ने र आगामी दिनमा फाइभजी सेवा विस्तर गर्न समेत सहज हुने गरी काम गर्ने तयारी भइरहेको दुरसञ्चार कम्पनीले जनाएको छ ।

फाइबर इन्टरनेट विस्तारसँगै गाउँपालिकामा सूचना प्रविधिमा आधारित सेवा प्रभावकारी बन्ने, शैक्षिक तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार हुने र स्थानीय स्तरमा डिजिटल पहुँच थप मजबुत हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले नागरिकता लगायतका सिफारिस समेत अनलाइन बाट गर्ने व्यवस्था आएपछि त्यसको कार्यालयन गर्न पनि गाउँपालिकाले तत्कालका लागी ३२ वटा सामुदायिक विद्यालय,सात वटा वडा कार्यालय,सात वटा स्वास्थ्य सस्थामा पहिलो चरण जडान गर्ने लक्ष्य राखेको छ ।