Loading... आजः शनिबार, पुस २६, २०८२
Trending

सिफारिस सूचीमा पुरानै अनुहारको दबदबा


कमल शर्मा
दैलेख  : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागी दैलेखका रहेका प्रमुख राजनीतिक दल नेपाली काँग्रेस,नेकपा(एमाले) नेपाली कम्युनिस्ट पार्टी लगायतका दलहरूले गरेको सिफारिस सूचिमा पुरानै अनुहारको दबदबा रहेको पाइएको छ । दलहरूले सार्वजनिक रूपमा नयाँ नेतृत्व र परिवर्तनको कुरा गरे पनि सिफारिस सूची हेर्दा भने पुरानै अनुहार, अघिल्लो निर्वाचनमा पराजित, बागी बनेका तथा फ्लोर क्रसको इतिहास बोकेका नेताहरू नै हाबी देखिएका छन् ।
नेपाली काँग्रेसबाट दैलेख निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा प्रत्यक्षतर्फ १३ जनाले उम्मेदवारीको आकाङ्क्षा व्यक्त गरेका छन्। प्रत्यक्षतर्फ खेमराज केसी, खेमराज वली, गणेशप्रसाद उपाध्याय, देवेन्द्रबहादुर थापा, नगेन्द्रबहादुर मल्ल, नर्सिङ मल्ल, पदमबहादुर मल्ल, बखतबहादुर कटुवाल, बास्ना थापा, भूपेन्द्र शाही, मणिराम रेग्मी, मनोजकुमार थापा र सुशील देउजा रहेका छन् । सिफारिस भएका उम्मेदवारमध्ये देवेन्द्रबहादुर थापा, पदमबहादुर मल्ल र सुशील देउजा बाहेक अन्य सबै यसअघि स्थानीय तहको निर्वाचन, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार भइसकेका छन् ।

त्यस्तै, दैलेख निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ दिक्पालकुमार शाही, सीता कुमारी राना, एकेन्द्रबहादुर पन्त, मधुविक्रम खनाल र रञ्जना कुमारी शाही सिफारिस हुनुभएको थियो । दिक्पालकुमार शाही र सीता कुमारी राना यसअघि प्रतिनिधि सभा सदस्य भइसक्नुभएको छ । मधुविक्रम खनाल २०७४ सालमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं. २ (क) बाट नेकपा (एमाले) का सुशील कुमार थापासँग पराजित हुनुभएको थियो भने एकेन्द्रबहादुर पन्त प्रत्येक निर्वाचनमा सिफारिस हुँदै आउनुभएका उम्मेदवार हुनुहुन्छ । रञ्जना कुमारी शाही भने पहिलो पटक उम्मेदवारका रूपमा सिफारिस हुनुभएको हो ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दैलेखले आगामी फागुनमा २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरेका उम्मेदवारको सूचि हेर्दा पुरानै अनुहारको दबदबा भएको देखिन्छ । अघिल्लो निर्वाचनमा बागी बनेका, पराजित भएका तथा फ्लोर क्रसको इतिहास बोकेका नेताहरूकै दबदबा हुँदा उनीहरुनै सिफारिस भएका छन् । दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट अमरबहादुर थापा, प्रेमबहादुर कटुवाल, विद्या प्रसाद ढकाल, प्रकाश अधिकारी र रमा रेग्मीको नाम सिफारिस गरिएको छ । थापा निवर्तमान प्रतिनिधि सभा सदस्य, भइसक्नुभएको छ भने प्रेम कटुवाल यस अघिको प्रदेश सभा सदस्यको निर्वाचनमा प्रदेश दैलेख निर्वाचन क्षेत्र न १ (ख)मा प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस भइसक्नुभएको छ ।नयाँ सिफारिस गरिएका युवा बाट प्रकाश अधिकारी महिला बाट रमा रेग्मी, विद्या प्रसाद ढकाल भने पहिलो पटक प्रत्यक्षका लागी सिफारिस हुन ।

दैलेख निर्वाचन क्षेत्र नम्बर २ बाट योगेन्द्र बहादुर शाही, उपेन्द्रकुमार रावत, तर्कबहादुर शाही, लक्ष्मीकमल न्यौपाने, नवराज योगी, हर्क थापा र रमा कार्की सिफारिस भएका छन् ्। योगेन्द्र बहादुर शाही २०७९ सालको प्रदेश सभा सदस्य निर्वाचनमा एमालेका विनोद कुमार शाह सँग पराजित हुनुभएको थियो । उपेन्द्र रावत पहिला पनि सिफारिस भए पनि टिक नपाएका नेता हुनुहुन्छ भने अन्य सबै पहिलो पटक सिफारिस हुनुभएको हो ।

त्यस्तै नेकपा एमालेले सिफारिस गरेको सूचि अनुसार पुरानै अनुहार सिफारिस गरिएको छ । दैलेख निर्वाचन क्षेत्र नं. १ बाट भने एमालेले पूर्व प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा, तेजबहादुर चन्द, पूर्व नगर प्रमुख रत्नबहादुर खड्का, नन्द किशोर बस्नेत र महिलातर्फ लीला बिसीको नाम सिफारिस गरेको छ।

सिफारिस गरिएका मध्ये रबिन्द्रराज शर्मा पूर्व प्रतिनिधि सभा सदस्य भइसक्नु भएको छ भने रत्न बहादुर खड्का,नन्द किशोर बस्नेत,पहिलो पटक सिफारिस हुनुभएको छ । तेज बहादुर चन्द २०७० सालको संविधान सभा सदस्य पदमा निर्वाचन लडेर पराजित हुनुभएको थियो ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिसका लागि केन्द्रीय सदस्य विष्णु रिजाल, पूर्व पोलिटब्युरो सदस्य एवम् संविधान सभा सदस्य लक्ष्मीप्रसाद पोखरेल, कर्णाली प्रदेश सभाका निवर्तमान सभामुख राजबहादुर शाही र पूर्व संविधान सभा सदस्य राजबहादुर बुढाबिच उम्मेदवारका लागी आंकाक्षा देखाउनुभएको थियो ।

सहमति नभए पछि निर्वाचन गर्दा सबै भन्दा बढी विष्णु रिजालले ६७ मत, लक्ष्मीप्रसाद पोखरेलले ६६, राजबहादुर शाहीले ६१ र राजबहादुर बुढाले ५० मत प्राप्त गर्नुभएको छ । क्षेत्रीय कमिटीका अनुसार पहिलो र दोस्रो मत प्राप्त गर्ने विष्णु रिजाल र लक्ष्मीप्रसाद पोखरेल तथा महिलातर्फ अम्बिका बोहरालाई जिल्ला कमिटीमार्फत केन्द्रमा सिफारिस गरिएको छ । विष्णु रिजाल पनि यस अघि प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस भइसक्नुभएको हो । तर अहिले सम्म निर्वाचन नलडेकामा उहाँ पर्नुहुन्छ ।