आर्थिक लोभमा उजाडिँदै गाउँ


कमल शर्मा
दैलेख : केही महिना अघि चुत्राका फुल फुल्दा पहेँलै देखिने दैलेखका अधिकांश गाउँहरू अहिले नाङ्गो पहाडजस्तै देखिन थालेका छन् । जङ्गलसँगै जीवन बिताएका स्थानीय बासिन्दा आज आफैँले उखेलिएको वन देखेर चिन्तित छन् । कारण हो— चुर्ताको जरा, जसको प्रतिकेजी १५ देखी २५ रुपियाँले गाउँको स्वरूप नै बदलिदिएको छ ।
दैलेखका विभिन्न वडामा पछिल्लो समय चुत्राको जरा उखेल्ने क्रम तीव्र बनेको छ । जङ्गलमा आफैँ उम्रने चुत्रा केही वर्षअघि कसैको चासोको विषय थिएन । तर अहिले प्रतिकेजी १६ देखि २५ रुपैयाँसम्म पाइने भएपछि स्थानीय बासिन्दा यही लोभले कतिपय बस्तीहरू उजाड बन्दै गएका छन् ।भगवतीमाई गाउँपालिका–२ का डिल बहादुर तिरुवाले भन्नुभयो अहिले बिहान कसैको घरमा जानुभयो भने बालबालिका बाहेक कोही हुँदैन सबै जङ्गलमा चुत्राको जरा खन्न व्यस्त छन् । घर खर्च चलाउन र दैनिकी धान्न चुत्रा नै सहारा भएपछि गाउँका ब्यत्तिगत जग्गामा र सार्वजनिक जग्गामा रहेको चुत्राका बोट एक पनि भेटाउन मुस्कीछ । सबै खनेर सकिन लागे । उहाँले भन्नुभयो क्षणिक आर्थिक लाभका लागी गरिएको यो कार्यले दीर्घकालीन असर पार्ने खतरा बढेको छ । चुत्राको जरा पूरै उखेलिँदा माटोको पकड कमजोर बनेको, भू–क्षयको जोखिम बढ्ने बताउनुभयो ।
चुत्रा निकासीलाई लिएर डिभिजन वन कार्यालय दैलेख पनि दोहोरो समस्यामा परेको छ । डिभिजन वन अधिकृत अम्मर प्रसाद शाह भन्नुहुन्छ “चुत्रा निकासीका लागि केही दिनअघि दिइएको अनुमति तत्कालका लागि स्थगन गर्ने तयारीमा छौँ । कुनै व्यक्तिको निजी जग्गामा भएको चुत्रा बेच्न पाउनुपर्छ भनेर निवेदन आउँछ भने अर्को पक्षले विनाश भयो भन्दै रोक्न माग गर्छ। अनुमति दिँदा पनि समस्या, नदिँदा पनि समस्या छ।” उहाँका अनुसार चुत्रा निकासीलाई नियन्त्रण र व्यवस्थापन नगरे वन क्षेत्र थप जोखिममा पर्न सक्छ। “हामीलाई दोहोरो दबाब छ जीविकोपार्जन पनि रोक्न मिल्दैन, तर वन विनाश पनि स्वीकार्य छैन,” शाह भन्नुभयो ।
चुत्रा निकासी व्यवसायमा संलग्न जीवन कार्की भने पछिल्लो १५ दिनदेखि मात्रै निकासी सुरु भएको बताउनुभयो । भर्खर निकासीका लागी अनुमति पाएका जनताले पुन रोकिने कुरा आएपछि समस्यामा रहेको बताउनुभयो । उहाँले वडा र सब डिभिजन बाट मुचुल्का तयार पारी जरा उत्खननका लागी राजश्व समेत तिरेको अवस्थामा पुन रोकिने हल्लाले व्यवसायी समस्यामा परेको बताउनुभयो । “यसअघि चुत्रा निकासी रोकिएको थियो। अहिले धेरै व्यवसायी आएपछि प्रतिस्पर्धा बढ्यो। त्यसले स्थानीयलाई बढी फाइदा हुने लोभ भयो,” उनी भन्छन्। तर कार्कीले आफूहरूले जरा पूरै उखेल्न नलगाउने दाबी गर्छन्। “हामीले मोटो भाग मात्र निकालेर ल्याउनुस् भन्छौँ। तर पैसाको लोभमा सबै उखेलिएर ल्याउँदा गाउँ उजाड देखिनु स्वाभाविक हो,” उनको भनाइ छ।
उहाँका अनुसार आबादी क्षेत्रबाट निकासी गरिएको चुत्रामा खरिद मूल्यमा १३ प्रतिशत भ्याट राज्यलाई बुझाएर बाहिर पठाइने व्यवस्था छ। यसले राज्यलाई राजस्व त दिन्छ, तर वन विनाशको क्षति गणनाभन्दा बाहिर छ। छोटो आम्दानी र दीर्घकालीन विनाशबिच दैलेखका गाउँहरू अलमलमा परेका छन्। आज प्रतिकेजीको लोभले उजाडिएको जङ्गल भोलि बस्तीका लागि नै खतरा बन्ने स्थानीय बुद्धिजीवीको चेतावनी छ । नागरिक समाजका प्रतिनिधिले यदि समयमै नीति, नियमन र वैकल्पिक आयका उपाय नखोजिए दैलेखका हरिया गाउँहरू भूक्षयको ठुलो जोखिममा पर्नेछ ।

