Loading... आजः शुक्रबार, माघ ३, २०८२
Trending

पाँच दशकपछि फर्काइएको सुन्दरी तोप खुल्ला आकाशमै


कमल शर्मा
दैलेख  :  कोतगढीको मौन प्रांङगणमा उभिएको सुन्दरी तोप दैलेखको इतिहासको साक्षी हो । तत्कालीन समयमा युद्धको तयारीमा गर्जिएको यो तोप आजभोली घाम, पानीको सिधा मार सहँदै खुला आकाशमै राखिएको छ । पाँच दशकपछि आफ्नै थातथलो फर्काइएको यो ऐतिहासिक तोप संरक्षणको पर्खाइमा छ । २०२८ सालको भोकमरी धान्न नसक्दा दैलेख सदरमुकामबाट सुर्खेतस्थित ज्वाला दल गण सारिएको सुन्दरी तोप नेपाली सेनाको जिम्मामा रह्यो । त्यसबेला सुन्दरीसँगै अर्गालगायत अन्य तोप पनि बोकेरै लगिएका थिए । दैलेखको इतिहास, सेना र स्थानीय संस्कृतिसँग गहिरो सम्बन्ध रहेको यो तोप करिब ५० वर्षपछि नारायण नगरपालिका–१ स्थित कोतगढीमा फर्काइएको हो । तोपसँगै ८१ थान गोला पनि हस्तान्तरण गरिएको थियो ।
तोप दैलेख आइपुग्दा स्थानीय उत्साहित थिए । झाँकी, लाखे र पैचारु नाचसहित बाजागाजा बजाएर भव्य स्वागत गरिएको थियो । ‘हाम्रो इतिहास फर्कियो’ भन्ने भावनाले स्थानीय गर्वित बने । तर, समय बित्दै जाँदा त्यो उत्साह संरक्षणमा भने रूपान्तरण हुन सकेन । तीन वर्ष बितिसक्दा पनि सुन्दरी तोप राख्नका लागी आवश्यक पुर्वाधारका संरक्षण संरचना निर्माण भएको छैन । करिब २३२ वर्ष पुरानो यो तोप कोतगढीमै राखिएको छ । ५० देखि ७० मिटर क्षेत्रफलमा फैलिएको र करिब १२ फिट उचाइको कोतगढी बहादुर शाहको नायबी कालमा पश्चिमतर्फका राज्य एकीकरणका क्रममा प्रयोग गरिएको ऐतिहासिक किल्ला हो । यही गढीमा राखिएको सुन्दरी तोपले दैलेखको सैन्य र राजनीतिक इतिहास बोकेको छ ।
नारायण नगरपालिका वडा नः–१ का पूर्ववडाध्यक्ष तिर्थनारायण श्रेष्ठले तोपहरु धेरे जसो गढीमा खुल्ला आंकाशमै राख्ने गरिएको हुँदा तत्कालीम सयमा दैलेख ल्याउँदा समेत खुल्ला आकाँशमै राखिएको बताउनुभयो । उहाँले आफ्नो कार्यकार्यलमा कोतगढीमा रहेका तोपहरुको खोजी गर्दा सुन्दरी तोप मात्र फेला परेको र अर्को अर्गातोप र भगवतीको मुर्ती फेला नपरेको बताउनुउभो । उहाँले भन्नुभयो तोपले पछिल्लो पुस्तालाई इतिहास बुझ्ने अवसर दिएको छ, तर संरक्षणका लागी अझै नेपाली सेना र नगरपालिकाले ध्यान दिन आवश्यक छ । नेपाली सेनाको समन्वयमा तोप कालीदत्त गुल्म हुँदै कोतगढीमा राखिएको थियो ।
काँडाचौरस्थित कालिदत्त गुल्मका मेजरले गजल खड्काले सुन्दरी तोप र कोतगढीका बारेमा जानकारी नपाएको बताउनुभयो । उहाँले आफु भर्खर मात्र जिल्लामा आएको र त्यहाँको अवलोकन गरेपनि वास्तविक कुरा अध्ययन गर्न बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो स्थानीय टुडिखेलमा राखेपछि नेपाली सेना माहतत भएपनि त्यसको संरक्षणको दायित्व नगरपालिकाकै हुन्छ ।
दैलेखको नारायण नगरपालिका –१ स्थीत पुरानो बजारमा रहेको कोतगढीलाई मर्मत सम्भार गर्न नसकिएको वडा नः १ का वडाध्यक्ष शैलेसुकमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले स्थानीय सरकार बाट पुरातत्व विभागलाई पत्र पठाएर पुरानैशैलीमा निर्माण गर्नका लागी पर्यटन बोर्ड बाट ९० लाख रुपियाँ बिनियोजन गरी ठेक्का लागेको काम समेत नेपाली सेनाले रोकिदिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो तोपको सुरक्षा र सफा गर्ने काम नेपाली सेनाको हो हामीले कोतगढीमा रोपेका फुलहरुको संरक्षणका लागी माली मात्र राखेका छौँ अर्को बर्ष बाट माली समेत नरहन सक्छ । तत्कालीन समयमा सुन्दरीसँगै अर्गा तोप पनि दैलेखबाट सुर्खेत लगिएको थियो भन्ने भएपनि त्यसको पनि खोजी गरी कोतगढीमै राख्नका लागी सबै सरोकारवाला निकायकाले पहल गर्नुपर्ने वडाध्यक्ष श्रेष्ठको भनाइछ ।
नारायण नगरपालिका –१ कोतगढी नजिकै घरभएका रामबाबु श्रेष्ठले सुन्दरी तोप पुनःस्थापनाले दैलेखको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताउँदै अझै यसलाई राम्रो र आर्कषण बनाउँनु पर्नेमा जोडदिनुभयो । उहाँले भन्नुभयो अहिले विभिन्न जिल्लाका नागरिकहरु तोप हर्ने आउने गरेका छन । पहिले दसैंलगायत चाडपर्वमा कोतगढीमा तोपको बढाइँपछि मात्र पूजा सुरु हुन्थ्यो,’ उनी सम्झन्छन् । भाषाको पहिलो अभिलेख र ३२ जातजातिको उद्गमस्थल मानिने दैलेखमा यस्ता सम्पदाको संरक्षण अझै आवश्यक रहेको उहाँको भनाइछ ।
उहाँका लगायत स्थानीयवासीको चिन्ता एउटै छ—इतिहास फर्किए पनि संरक्षण नफर्किनु । घाम, वर्षा र मौसमी असरले सुन्दरी तोपमा क्षति पुग्ने डर उनीहरू व्यक्त गर्छन् । उनीहरू नगरपालिकासँग छिटोभन्दा छिटो संरक्षण संरचना निर्माण गरी सुन्दरी तोपलाई सुरक्षित राख्न माग गरिरहेका छन् । इतिहासको गर्जन बोकेको सुन्दरी तोप आज मौन छ, तर त्यसको मौनताले संरक्षणको प्रश्न भने अझ ठूलो स्वरमा उठाइरहेको छ । दैनिक रुपमा सुन्दरती तोपका सरसफाई गर्नु पर्ने भएपनि त्यसको न नेपाली सेनाले त्यसको जिम्मा लिएको छ भने न नगरपालिकाले जिम्मा लिएको छ ।