Loading... आजः मङ्लबार, पुस ८, २०८२
Trending

अमेरिका बाटै हातमा किताव रहित अभियान


कमल शर्मा
दैलेख  :   धुलो उडाउँदै बिहानीको घाममा पहाडी बाटो बाट विद्यालय झर्दै गर्दा नौमुले गाउँपालिका –५ का बालबालिका विद्यालय पढ्न नौमुले झर्छन् । कसैले किताब कापी हातमा हड्याएको कसैले च्यातिएको झोला धागोले अड्याएर बोकेको । झोला नभए पनि हातमा किताब कापी बोकेर पढाइको सपना बोकिरहेका बालबालिका । यहि दृश्यले रोजगारीको सिलसिलामा अमेरिकामा बस्दै आएका मानेन्द्र चन्दको मनमा छोएको थियो । बाल्यकालमा त्यही च्यातिएको झोला र झोला नभएको बेला हातमा किताब कापी बोकेर विद्यालय आउने जाने गरेको सम्झनाले हातमा किताब रहित अभियान जन्मायो ।


मानेन्द्र भन्नुहुन्छ “हामी गाउँमा पढ्दा झोला हुँदैनथ्यो। हातमा किताब र कापी बोकेर विद्यालय जानुपथ्र्यो । त्यो अनुभवले आज मलाई बाध्य बनायो कि म आफ्नै गाउँका बालबालिकाको शिक्षा सजिलो बनाऊँ।” नौमुलेको सल्लेरीमा जन्मेका मानेन्द्र अहिले अमेरिका बसेर रोजगारी गरिरहनु भएको छ । तर मन भने सधैँ मातृभूमिमा अडिएको छ । आफूले कमाएको रकमले बालबालिकालाई सहयोग गर्न सकिन्छ भन्ने विश्वासले उहाँलाई ‘हातमा किताब रहित अभियान चलाई रहनुभएको छ । “अमेरिकामा म दिनभर काम गर्छु, तर गाउँका ती बालबालिकाको पीडा सम्झँदा थकाइ हराउँछ,” उहाँले भन्नुभयो यो अभियान सुरु गर्दा मेरो मन भन्थ्यो—सुरु सानो हो, तर यदि धेरैको हातमा झोला पुग्छ भने भविष्यमा ठुलो परिवर्तन हुनेछ ।
अमेरिकामा बसेर पनि मानेन्द्रले मातृभूमि र बालबालिकाप्रतिको जिम्मेवारीलाई कहिल्यै छुटाउनुभएन । उहाँले भन्नुभयो मलाई विश्वास छ, जहाँ भए पनि हामीले योगदान दिन सक्छौँ । एउटा झोला मात्र होइन, त्यो बालकको सपना, उसको भविष्य हो।


मानेन्द्र चन्दले सुरु गरेको अभियान बाट एक हजार आठ सय विद्यार्थीको हातमा झोला पुगेको छ । हातमा किताब मुक्त अभियान मात्र नभएर उहाँले कोभिड कालमा जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकामा लाखौँको औषधी आवश्यक उपकरण सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो मेरो सानो सहयोगले कसैको जीवनमा परिवर्तन वा सहजता ल्याउँछ भने त्यसमा आफूले कमाएको रकम खर्च गर्न हुनै समस्या हुँदैन । हाल सम्म विभिन्न पटक गरेर तीन करोड बरावरको सामाग्री खरिद गरी सहयोग गरेको मानेन्द्रको भनाइछ । भैरव माध्यमिक विद्यालय नौमूलेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शशिराम विकका अनुसारले अमेरिकामा बसेर पनि दैलेख जिल्लाका आर्थिक अभावका कारण झोला किन्न नसकेर हातमा किताब कापी बोक्ने बालबालिकाहरूलाई मानेन्द्रको अभियानले धेरै सहयोग गरेको बताउनुभयो । उहाँले हातमा कापी किताब बोकेर हिँड्ने बालबालिकाले झेला पाउँदा निकै खुसी भएका छन् र पढ्ने उत्साह बढेको बताउनुभयो । मानेन्द्रको कथा प्रेरणादायी छ, किनभने यसले देखाउँछ कि विदेशमा बसेर पनि आफ्नो मातृभूमिको शिक्षा क्षेत्रमा योगदान गर्न सकिन्छ।

 

“हातमा किताबरहित अभियान”ले दुर्गम क्षेत्रका बालबालिकामा शिक्षा सजिलो बनाउँदै उनीहरूको भविष्य उज्ज्वल बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। यो अभियानले बालबालिकालाई पढ्ने अवसर प्रदान गर्नुका साथै समाजमा शिक्षा र ज्ञानको महत्वलाई व्यापक रूपमा फैलाएको छ। झोला र किताबसहित हिँड्दै गरेका ती बालबालिकाको हाँसोले मानेन्द्रको सपना र विश्वासलाई पुष्टि गर्दै छ—“शिक्षा कुनै दुरी, कुनै देशले रोक्न सक्दैन। हाल सम्म २७ वटा माध्यमिक विद्यालय र केही प्राथमिक विद्यालयका गरी एक हजार आठ सय जनाले झोला पाएका छन् ।