Loading... आजः बिहिबार, माघ २, २०८२
Trending

डिजिटल हिंसाको सिकारमा राउटे युवती

फाइल तस्बिर

कमल शर्मा
दैलेख :  २०८२ जेठमा दैलेखको आठबीस नगरपालिका–३ का तपेन्द्र शाहीले सामाजिक सञ्जालमा ‘भाइरल’ बन्ने नाममा गुडिरहेको ट्रकमा भेटिएकी राउटे युवतीहरूसँग अनुमति विना अशोभनीय तरिकाले भिडियो खिचेर टिकटकमा अपलोड गरे । भिडियो टिकटकबाट फेसबुकमा समेत फैलिँदै जाँदा ती युवतीको गोपनीयता र आत्मसम्मानमा गम्भीर असर परेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी प¥यो । उजुरीपछि सुर्खेत प्रहरीले शाहीलाई पक्राउ गरी विद्युतीय कारोबार सम्बन्धी (साइबर क्राइम) मुद्दामा अनुसन्धान अघि बढाएको थियो । जिल्ला अदालत सुर्खेतले उनलाई २०८२ असार १५ गते एक लाख रुपैयाँ धरौटीमा छाडिदिए पनि यस घटनाले राउटे समुदायका महिलामाथि बढ्दो डिजिटल जोखिम स्पष्ट पारेको छ ।
यसअघि पनि २०७८ जेठमा सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केका चमन घर्ती (जोगी) सहित तीन जनाले राउटे किशोरीलाई होटेलमा राखेर मदिरा सेवन गराई यौन दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीले जवरजस्तीकरण उद्योगमा मुद्दा दर्ता गरी जिल्ला अदालत सुर्खेतमा बुझाएको थियो । अदालतले दुई जना युवाहरूलाई सात÷सात वर्ष र होटल सञ्चालक लाई तीन वर्ष कैद सजायको फैसला सुनाएको थियो । अहिले उक्त मुद्दा उच्च अदालतमा पुगेको सुर्खेत अदालतका सूचना अधिकारी उज्वलदेव रावलले जानकारी दिनुभयो ।
अनुमति विना खिचिएको भिडियो ‘मनोरञ्जन’को नाममा सार्वजनिक गर्ने प्रवृत्तिले राउटे समुदायका किशोरी, युवती र महिलालाई निरन्तर खतरा निम्त्याइरहेको प्रहरीका अधिकारीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन भट्टराईले पछिल्लो केही वर्षयता सामाजिक सञ्जालमा राउटे महिलालाई लक्षित गरेको उत्तेजक भिडियो, उपहासजनक सामग्री, र प्रलोभन देखाएर बनाइएका अशोभनीय क्लिपहरूको संख्या बढिरहेको बताउनुभयो ।

राउटे समुदाय परम्परागत रूपमा घुमन्ते जीवनशैली, सामूहिक निर्णय र मुखियाको आदेशमै चल्ने सामाजिक संरचनामा आबद्ध छ । आधुनिकीकरण र बजार प्रवेशसँगै आधुनिक प्रविधि, मोबाइल फोन र डिजिटल माध्यमसँग उनीहरूको सम्पर्क विस्तारै रूपमा बढ्दै गएको छ। तर प्रविधि बारे ज्ञानको कमी, कानुनी चेतनाको अभाव, भाषिक कमजोरी र बाह्य समाजसँगको असन्तुलित सम्बन्धका कारण उनीहरू विशेष गरी महिला तथा युवतीहरू जोखिममा पर्ने गरेको पाइन्छ ।

महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने अधिकारकर्मी डिलकुमारी चन्द भन्नुभयो डिजिटल हिंसा केवल हाँसोको विषय होइन, यो कुनै व्यक्तिको सम्मान, मानसिक स्वास्थ्य र पहिचानसँग जोडिएको गम्भीर प्रश्न हो । खास गरी राउटे किशोरी वा युवतीलाई लक्षित गरी उपहासजनक रूपमा भिडियो बनाइँदा उनीहरूको आत्मसम्मानमै ठुलो चोट पुग्छ । उहाँका अनुसार सामाजिक सञ्जालमा बिना अनुमति कुनै व्यक्तिको फोटो वा भिडियो सार्वजनिक गर्नु, अपमानजनक टिप्पणी गर्नु, फर्जी कथा’सहित सामग्री फैलाउनु वा गोपनीयतामा ठाडो आक्रमण गर्नु साइबर अपराधको रूप हो। तर राउटे समुदायका धेरै महिलाहरूलाई ‘कानुन के भन्छ उजुरी कसरी दिने’, ‘डिजिटल सुरक्षा कसरी गर्ने भन्ने आधारभूत जानकारी नै छैन ।
राउटे समुदायका सवालमा काम गर्दै आएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापा भन्छन्, “ केही वर्षयता राउटे महिलामाथि डिजिटल माध्यम प्रयोग गरेर हुने दुव्र्यवहार उल्लेख्य रूपमा बढेको छ । बस्तीमा जाँदा वा बाटोमा भेट्दा केही व्यक्तिले प्रलोभन देखाएर भिडियो खिच्ने, अनुमति विना सामाजिक सञ्जालमा हाल्ने, अनि आफू ‘भाइरल’ हुन चाहने मनसायले उनीहरूको जीवनमा चोट पु¥याउने काम बढ्दो छ।” थापाका अनुसार यस्तो प्रवृत्ति न त समुदायले बुझ्न सक्छ, न त छिटो प्रतिकार गर्न । मुखियाले निर्देशन नदिएसम्म महिलाहरूको पक्षमा आवाज उठाउन कठिन हुने र बाह्य समाजसँगको भाषा तथा कानुनी दूरीकै कारण उनीहरू झनै असुरक्षित रहने थापाको भनाइछ ।

राउटे समुदायमा कार्यरत जोडी शिक्षक लालबहादुर खत्री भन्नुहुन्छ अन्य समुदायका मानिसलाई सामान्य जस्तो लाग्ने कुरा पनि राउटे महिलामाथि प्रयोग गर्दा उनीहरूको आत्मसम्मानमा गहिरो चोट पुच्छ । उनीहरू सामूहिक पहिचानमा गर्व गर्छन्। कसैले सार्वजनिक रूपमा दुव्र्यवहार गरे मुखिया वा पुरुष सदस्यहरू आक्रोशित हुने र समुदायभित्र तनाव बढ्ने सम्भावना रहन्छ।”उहाँका अनुसार राउटे समाज पूर्णतः मुखिया–निर्देशित संरचनामा आधारित भएकाले बाहिरबाट हुने अपमानजनक व्यवहार उनीहरूको सामूहिक मनोबल, सुरक्षित स्थान र सामाजिक अनुशासनसमेत प्रभावित बनाउँछ । राउटे समुदाय सुर्खेतको लेकबेसी नगरपालिकाको गँगटेमा बस्दै आएका छन् ।