Loading... आजः मङ्लबार, पुस ८, २०८२
Trending

दुई क्षेत्रमा काँग्रेसका ४३ जना उम्मेदवारका आकांक्षी


कमल शर्मा
दैलेख  :  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दैलेखका दुई निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसमा तीन दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । पार्टीको केन्द्रीय निर्देशनअनुसार माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नामावली संकलन गर्दा करिब ४३ जनाले उम्मेदवारीको आकांक्षा व्यक्त गरेका छन् ।
निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा प्रत्यक्षतर्फ १३ जना, समानुपातिकतर्फ ७ जना र राष्ट्रिय सभातर्फ ६ जनाले नाम दर्ता गराएका छन् । प्रत्यक्षतर्फ खेमराज केसी, खेमराज वली, गणेशप्रसाद उपाध्याय, देवेन्द्रबहादुर थापा, नगेन्द्रबहादुर मल्ल, नर्सिङ मल्ल, पदमबहादुर मल्ल, बखतबहादुर कटुवाल, बास्ना थापा, भूपेन्द्र शाही, मणिराम रेग्मी, मनोजकुमार थापा र सुशील देउजा रहेका छन् । यसमध्ये ४० वर्ष उमेर समूहमा मनोजकुमार थापा र सुशील देउजा मात्र परेका छन् ।

समानुपातिकतर्फ कुलबहादुर विश्वकर्मा, दीपक सोनी, दुर्गा श्रेष्ठ, निर्मला थापा, मिना थापा र मोहनमाया प्याकुरेल तथा समावेशी समानुपातिकतर्फ गणेशबहादुर बोगटी रहेका छन् । राष्ट्रिय सभातर्फ किशोर केसी, रङ्गबहादुर शाही, खड्गबहादुर सिजापति, नगेन्द्रबहादुर खत्री, सीता ज्ञवाली र हिकमतबहादुर विश्वकर्माले नाम दर्ता गराएका छन् । नेपाली काँग्रेस क्षेत्र न १ का क्षेत्रीय सभापति दशरथ खड्काले “प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा गरी २६ जनाले आकांक्षा व्यक्त गरेको बताउनुभयो । उहाँले उम्मेदवार बिच सहमति भए कम नाम सिफारिस गर्ने, नभए सबै नाम केन्द्रमा पठाइने जानकारी दिनुभयो ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि प्रारम्भमा नौ जनाले आकांक्षा देखाए पनि अन्तिममा पाँच जनाको नाम मात्र सिफारिस गरिएको छ । क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य एवम् समानुपातिक तर्फका उम्मेदवारका लागी तोकिएको शुल्क नबुझाएका उम्मेदवारको नाम हटाएर शुल्क बुझाएका उम्मेदवार मात्र सिफारिस गरेको जनाएको छ । प्रति उम्मेदवार २५ हजार शुल्क तोकिएको थियो । क्षेत्रीय कार्य समितिले सिफारिस गरे अनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ सिफारिसमा दिक्पाल कुमार शाही, सिता कुमारी राना, एकेन्द्रबहादुर पन्त, मधुविक्रम खनाल र रञ्जना कुमारी शाही रहेका छन् ।

समानुपातिकतर्फ जानकी कुमारी विष्ट, पूर्णबहादुर थापा, भगवतीप्रसाद रेग्मी, लीलाराम उपाध्याय, शेरबहादुर शाही, सुमित्रा शाह र सूर्य विकको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभातर्फ खड्गबहादुर शाही, रङ्गबहादुर शाही, राजेशकुमार शाही, शिवराज जोशी र हिमबहादुर शाहीको नाम सिफारिस गरिएको छ । यसमध्ये रङ्गबहादुर शाही, शिवराज जोशी पूर्व प्रतिनिधि सभा सदस्य तथा हिमबहादुर शाही कर्णाली प्रदेश सभा सदस्य समेत भइसकेका छन् ।

नेपाली काँग्रेसका युवा नेता भूपेन्द्र बहादुर शाहीले नेपाली काँग्रेसले दैलेख निर्वाचन क्षेत्र १ सधै गठबन्धका नाममा दिएर १० बर्ष देखी आफ्नो पार्टीको उम्मेदवार पाउन नसकेको बताउनुभयो । उहाँले यस पटकको निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र १ फेरी गठबन्धनमा गएर काग्रेस बिद्रोह गर्ने तयारीमा समेत रहेको बताउनुभयो । उहाँले भन्नुभयो हामीले उम्मेदवार नबनाउँदा नेपाली काँग्रेसमा आश्थावान राख्नेहरुले नै निर्वाचन चिन्ह बिर्सीने जोखिम बढेको छ ।