Loading... आजः बुधबार, पुस ९, २०८२
Trending

पुस २५ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता गर्ने एन्फाको निर्णय


काठमाडौं  :  अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी पुस २५ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। सोमबार बसेको एन्फाको आपतकालीन बैठकका निर्णय सार्वजनिक गर्दै एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता गर्ने र त्यसका लागि ए डिभिजन क्लबहरूलाई टिम दर्ता गर्न खुला गर्ने निर्णय भएको जनाएको हो।

बैठकले राष्ट्रिय लिग सम्पन्न भएको एक महिनाभित्र ए डिभिजन लिग आयोजना गर्ने निर्णय भएको एन्फा महासचिव किरण राईले जानकारी दिनुभयो । राष्ट्रिय लिग खेल्ने टिमको टुङ्गो लागेपछि खेलको फर्म्याटका बारेमा आवश्यक निर्णय हुने उनले बताए। महासचिव राईले यस वर्ष राष्ट्रिय लिग हुने र अर्को वर्ष ए डिभिजन लिग हुने बताउनुभयो ।

त्यस्तै एन्फाले फिफा फरवार्ड कार्यक्रमअन्तर्गत धनगढी र धुलिखेलमा नयाँ घाँसे मैदान निर्माण गर्ने निर्णय पनि गरेको छ। एन्फा कम्प्लेक्समा रहेको कृत्रिम घाँसे मैदान परिवर्तन गर्न इडेन ग्रासलाई छनोट गर्ने गरी विश्व फुटबल महासंघ (फिफा)समक्ष प्रस्ताव पठाउने निर्णय पनि बैठकले गरेको छ।