Loading... आजः मङ्लबार, मंसिर १०, २०८२
Trending

नहुने चुनावको पछि एमाले लाग्दैन : महासचिव शङ्कर पोखरेल


सुर्खेत  :   नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी फागुनमा प्रतिनिधिसभाको निर्वाचन नहुने दाबी गरेका छन् । सुर्खेतमा शनिवार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले चुनावका नाममा देशमा थप षड्यन्त्र भइरहेकाले यसको औचित्य नरहेको बताए ।

‘चुनावका नाममा मुलुकमा षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘देशलाई चुनावको नाम दिएर भइरहेको षड्यन्त्रमाथि प्रहार एमालेले गरिरहेको छ । हुँदै नहुने चुनावका पछाडि एमाले लाग्दैन ।’उनले जेनजी आन्दोलनपछि संविधानविपरित गठन भएको सरकार र प्रतिनिधिसभा विघटन एमालेका लागि मान्य नहुने बताए । २३ र २४ भदौपछि गठन भएको सरकारले लोकतन्त्र कमजोर बनाउन लागि परेको उनले बताए ।

‘प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि संविधान भित्रबाट यही सांसदबाट निकास खोज्न आग्रह गर्दा पनि संविधानले नचिन्ने सरकार बन्यो । सरकार निर्माण र प्रतिनिधिसभा विघटन संविधानविपरित छ,’उनले भने ।विघटित सांसदलाई ब्युँताएर संविधान संशोधनमार्फत विद्यमान राजनीतिक सङ्कटबाट देशलाई बाहिर निकाल्न एमालेले चाहेको उनले बताए । उनले लोकतन्त्रलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुरस्थापनाको मुद्दामा सबै राजनीतिक दल एक ठाउँमा उभिन आग्रह गरे ।