Loading... आजः मङ्लबार, मंसिर १०, २०८२
Trending

संसद् पुर्नस्थापनाको माग गर्दै एघारै पालिकामा एमालेको प्रदर्शन


दैलेख  :  नेकपा एमाले दैलेखका जिल्लाका ११ स्थानीय तहका मुकाममा जनप्रदर्शन गरेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार एमाले दैलेखले संसद् पुनस्र्थापना गर्नुपर्ने माग राख्दै जिल्लाका ११ वटै पालिकामा जनप्रदर्शन गरेको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि भदौ २७ गते प्रतिनिधि सभा विघटन गरी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएदेखीनै एमालेले संसद् विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनस्र्थापनाको आवाज उठाउँदै सबै जिल्लाका वडा र पालिका स्तरमा जनप्रदर्शन गर्ने नीति अनुसार जनप्रदर्शन गरिएको नेकपा एमाले दैलेखले जानकारी दिएको छ ।
प्रतिनिधि सभा पुनस्र्थापनाको माग राख्दै दैलेखको आठबिस नगरपालिकामा मङ्गलवार आयोजना गरिएको सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवम् राज बहादुर बुढाले जेनजी आन्दोलन बाट बनेको सरकारले संसद् विगठन गर्न पाउने अधिकार नरहेको बताउँदै उक्त असंबैधानिक कदमलाई सच्याउन संसद् पूर्नस्थापना गर्नु पर्ने बताउनुभयो । उहाँले आन्दोलनकै बलमा प्रधानमन्त्री नै नियुक्त गर्दै गएको खण्डमा देशमा गृहयुद्ध हुने सक्ने बताउनुभयो । सडकबाट बनेको सरकारले निर्वाचन गराउँछ भन्ने कल्पना गर्न सकिँदैन । केन्द्रीय सदस्य बुढाले भन्नुभयो एमालेले चुनाव बहिष्कार नगरेको बताउँदै निर्वाचनका लागि उचित वातावरण नबनेकाले पार्टीले संसद् पुनस्र्थापनाको माग अघि सारेको छ ।
नेकपा एमाले नारायण नगर कमिटीले आयोजना गरेको जनप्रदर्शनमा बोल्दै निवर्तमान प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमाले कर्णाली प्रदेश कमिटीका उप सचिव रबन्द्रिराज शर्माले नेकपा एमाले निर्वाचनको पक्षमा भए पनि अहिलेको अवस्थामा संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने बताउनुभयो । उहाँले प्रतिनिधि सभा पुनस्र्थापना भएको खण्डमा आवश्यक पर्ने संविधान संशोधन गर्ने र त्यसपछि मात्र निर्वाचनमा जाने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो नेकपा एमालेले जनताको हित विपरीत काम गरेको छैन । ठुला विकास र मुलुकलाई समृद्धितर्फ एमालेले डो¥याएको बताउँदै एमालेप्रति जनताको विश्वास कायम रहेको छ । हिजो सबै पार्टी मिल्दा समेत नेकपा एमाले एक्लै निर्वाचन लडेर संसद्को दोस्रो ठुलो दल भएको बताउँदै एक्ला एक्लै निर्वाचन लडेको खण्डमा एमालेले बहुमत प्राप्त गर्न सक्ने उहाँको भनाइछ ।
सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य सूर्य कुमारी श्रेष्ठले विभिन्न षड्यन्त्रमार्फत जन निर्वाचित सरकारलाई हटाएर मुलुकलाई अराजकता तिर लिन खोजिएको बताउनुभयो । उहाँले संविधान माथि हुने छेडखानी र जनविरोध कामको एमाले सधैँ विरोध गर्ने गर्ने बताउनुभयो । संविधानको रक्षा र जन निर्वाचित संसद् पुनस्र्थापना गर्न सबै लोकतन्त्रवादी दल एक भएर अघि बढ्नुपर्ने केन्द्रीय सदस्य श्रेष्ठको भनाइछ । सडकबाट घोषणा गरिएको सरकारले निर्वाचन गराउन सक्दैन । नेकपा एमाले जिल्ला कमिटी दैलेखका अध्यक्ष सूर्य बहादुर शाहीले वडा स्तरीय जनप्रदर्शन,पालिका स्तरीय जनप्रदर्शन कार्यक्रम सम्पन्न भएको बताउँदै कात्तिक ३० गते दुल्लुमा बृहत् जनप्रदर्शन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले दुल्लु नगरपालिकाको पटाङगीनीमा हुने बृहत् जनप्रदर्शनमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने बताउनुभयो ।