पाकिस्तानले जित्यो हङकङ सिक्सेस क्रिकेटको उपाधि

काठमाण्डौ : कुवेतलाई ४३ रनले हराउँदै पाकिस्तानले हङकङ सिक्सेस क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानले छैटौं पटक हङकङ सिक्सेसको उपाधि जितेको हो । हङकङको मोङ कोकमा आइतबार भएको फाइनलमा पाकिस्तानले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको कुवेतले ५ ओभर १ बलमा ६ विकेट गुमाएर ९२ रनमात्र बनाउन सक्यो । कुवेतका मीट भावसारले ३३, अदनान इद्रीसले ३० रन बनाए ।
पाकिस्तानका माज सदाकतले ३ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ६ ओभरमा ३ विकेट गुमाएर १ सय ३५ रन बनायो । पाकिस्तानका कप्तान अब्बास अफ्रिदीले ५२, अब्दुल समादले ४२ रन बनाए । हङकङका मीट भावसारले ३ विकेट लिए । यसैबीच नेपाली टोलीको कप्तानी गर्दै हङकङ पुगेका शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । यसअघि नै उनले हङकङ सिक्सेस आफ्नो अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट रहेको बताएका थिए ।


