Loading... आजः मङ्लबार, मंसिर १०, २०८२
Trending

सवारी साधनको दुरुपयोग रोक्न जिल्ला स्तरीय कार्यविधि निर्माण


कमल शर्मा
दैलेख :  जिल्लामा रहेका सरकारी कार्यालयका सवारी साधनहरूको दुरुपयोग रोक्न जिल्ला प्रशासन कार्यालयले जिल्ला स्तरीय कार्यविधि २०८२ निर्माण गरेको छ । जिल्लामा रहेका तीन तहका सरकार तथा सार्वजनिक संस्थान अन्तर्गत रहेका सरकारी साधनहरूको लागत राख्ने,साधनको उपयोगमा मितव्ययी बनाउने,दुरुपयोग हुन नदिने,मर्मत सम्भार गरी चालु अवस्थामा राख्ने तथा मर्मत हुन नसक्ने सवारी साधनको लिलाम गर्ने कार्यलाई व्यवस्थित बनाउन स्थानी प्रशासन ऐन २०२८ सुशासन (व्यवस्थापन तथा सञ्चालन )ऐन २०६४ सरकारी सवारी साधनलाई नियमन गर्न गृह मन्त्रालयलाई प्राप्त अधिकार लगायतको परिधिभित्र रही जिल्ला स्थित कार्यालय प्रमुखको बुधवार बसेको बैठकले सरकारी साधन प्रयोग सम्बन्धी जिल्ला स्तरीय कार्यविधि दैलेख २०८२ निर्माण गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जिल्लामा सरकारी साधनहरूको दुरुपयोग हुने गरेको व्यापक गुनासो आएपछि जिल्ला स्थित कार्यालय प्रमुखको बैठक बाट सरकारी साधन प्रयोग सम्बन्धी जिल्ला स्तरीय कार्यविधि २०८२ निर्माण गरिएको बताए । उनले कार्यावधिमा सबै सरकारी कार्यालयहरूका सवारी साधनको लगत तयार गर्ने, सवारी साधनको दर्ता नवीकरण अद्यावधिक गरी राख्ने, लाइसेन्स प्राप्तलाई मात्र चलाउन दिने, कुन कामलाई प्रयोग गर्ने हो , लक बुक अनिवार्य भर्नुपर्ने, असम्बन्धित व्यक्तिलाई प्रयोग गर्न नदिने, दुरुपयोग भएमा कार्यालय प्रमुख र दुरुपयोग गर्नेलाई विभागीय कारबाही लागी सिफारिस समेत गरिने बताए । उनले भने यो कार्यविधि कार्यान्वयन गरेको खण्डमा सवारी साधनको दुरुपयोगमा कमी आउनेछ ।
त्यस्तै बुधवार बसेको कार्यालय प्रमुखको बैठकले १० बुदे निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रशासकीय अधिकृत गणेशविक्रम शाहले जानकारी दिए । उनले सरकारी सेवा प्रवाहमा देखिएका कमीकमजोरी बारे गुनासो सुनुवाइ र समस्याको सम्बोधन गर्ने, स्वीकृत बजेट अनुसारको वार्षिक कार्यक्रम कार्य योजना र कार्यान्वयन पद्धति अपनाउने, पुराना रुग्ण योजनाहरूको सूची बनाई जिल्ला प्रशासन र सम्बन्धित निकायबाट आवश्यक पहल गरी समाधान खोज्ने, आवश्यक परे कानुनी प्रक्रियामा लैजाने निर्णय गरिएको बताए । उनले थपे सरकारी कार्यक्रम र बैठकहरू निर्धारित समयमा सुरु गर्ने, सामान्य अवस्थामा स्वागत तथा सत्कारमा फूल माला र खादा प्रयोग नगर्ने अति आवश्यक अवस्थामा प्राकृतिक फूलको प्रयोग गर्ने, बस्तु तथा सेवा दिइरहेका व्यवसाय र फर्महरूको अनुगमन गरी दर्ता तथा नवीकरण गराउन लगाउने र अटेरी गरे बन्द गर्न अग्रसरता लिने, आसन्न प्रतिनिधिसभाको निर्वाचनको लागि मतदाता नामावली नयाँ नाम दर्तामा सघाउने लगायत निर्वाचनको पूर्व तयारीमा जुट्ने, जेन्जी आन्दोलनको क्रममा ध्वस्त भएका संरचना पुन निर्माण गर्न पुन निर्माण कोषमा स्वैच्छिक सहयोग संकलन गर्ने निर्णय गरिएको छ ।