Loading... आजः मङ्लबार, मंसिर १०, २०८२
Trending

मदिरामोहले घट्दै राउटेको जनसङ्ख्या


कमल शर्मा
दैलेख  :   कर्णालीका विभिन्न जिल्लामा घुमन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायको संख्या बर्सेनि घट्दै गएको पाइएको छ । अत्यधिक मदिरा मोह,असुरक्षित बास, समयमै उपचार अभाव तथा पोसिलो खानेकुरा नपाउँदा सात वर्षमा १२ जनाको मृत्यु भएको राउटे परियोजनाले जानकारी दिएको छ ।
राउटे परियोजनाका शिक्षक लाल बहादुर खत्रीले २०७५ सालमा परियोजना सुरु हुँदा एक सय ४७ जना सदस्य रहेको राउटेको जनसङ्ख्या १३५ मा झरेको छ । कात्तिक ६ गते राउटे समुदायका कुल पुजारी भक्तबहादुर शाहीको ७१ वर्षको उमेरमा निधन भए सँगै राउटे समुदायको संख्या १३५ पुगेको जानकारी दिए । उनका अनुसार स्वर्गीय शाही राउटे समुदायभित्र धर्म, परम्परा र संस्कृतिका प्रमुख अगुवा शाहीका एक छोरा बुरुस शाही र तीन छोरीहरू रहेका थिए । उनकी श्रीमतीको भने केही वर्षअघि नै निधन भएको थियो ।
फिरन्ते जीवन बिताउने यो समुदाय घट्दै जानुका प्रमुख कारण अव्यवस्थित तथा असुरक्षित बसाई, पोषण अभाव, मदिराको बढ्दो प्रयोग र समयमै उपचार नपाउनु रहेको शिक्षक खत्रीले बताए । उनले सरकारले दिने सुरक्षा भत्ताको समेत सही सदुपयोग नगरी मदिरा खाने समस्याले राउटे समुदाय घट्दै गएको बताए । उनले पछिल्लो समय बस्ती बाहिरका नागरिक सँग घुलमिल बढी भएसङै मदिरा प्रयोग गर्न सिकेका राउटेले सानै उमेर समूहले समेत मदिराको प्रयोग गर्ने गरेको बताए । उनले भने चिसोको समय सुरु भएको हुँदा आगोमा परेर र चिसोका कारण मृत्यु हुने जोखिम कायम रहेको छ । २०७१ सालमा तत्कालीन स्थानीय विकास मन्त्रालयले जिल्ला विकास समिति सुर्खेतमार्फत राउटेहरूको जनगणना गरेको थियो। तत्कालीन समयमा राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता दिन मन्त्रालयले यकिन संख्या नै नभएपछि गणना गर्न पठाएको थियो। उक्त समयमा सुर्खेतमा बसोबास गरेका राउटेको संख्या १८२ जना थियो । त्यसयता ४७ जनाभन्दा बढी राउटेको मृत्यु भएको छ ।
राउटे समुदायले अस्पतालमा पुगेर गरिने आधुनिक उपचारलाई परम्परा विपरीत मान्दछन्। उनीहरूले आफ्नै उपचार पद्धतिमा विश्वास गर्छन्। जङ्गलको जडीबुटीमाथि भर पर्छन्। कतिपय रोग निदानमा राउटेको आफ्नै पद्धतिले काम गर्दैन र राउटेको मृत्यु हुने गरेको छ । राउटे समुदायले अस्पतालमा उपचार गराउन नहुने मान्यता राख्ने गरेकाले पनि गम्भीर रोग लाग्दा समयमै उपचार गराउन नसकिने राउटे परियोजना मार्फत कार्यरत अनमी अन्जु पन्तले बताउनुभयो । उहाँले भन्नुभयो त्यसले गर्दा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । राउटेभित्रको जनसङ्ख्या सन्तुलनमा नहुँदा पनि जनसङ्ख्या घट्ने समस्या भइरहेको छ। यो समुदायमा तीन वटा समूह छन्। जसमा रास्कोटी, कल्याल र शोवंशी समूह छन्। अरू दुई समूहभन्दा रास्कोटी समूहको जनसङ्ख्या झन्डै दोब्बरले बढी छ। यी तीन समूहको आ–आफ्नो समूहभित्र वैवाहिक सम्बन्ध हुँदैन। जसले गर्दा जन्मदरभन्दा मृत्युदर बढी हुन्छ ।
राष्ट्रिय मानव अधिकार आयोग र सोसेकले गत वर्ष गरेको अध्ययनको प्रतिवेदनअनुसार राउटे समुदायभित्र नयाँ जन्ममा लामो अन्तराल पाइएको छ। उक्त अध्ययनले राज्यको यथोचित ध्यान पुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु र नराख्नु, प्रजनन स्वास्थ्यको अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसम अनुकुल लत्ताकपडाको अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभावका कारण समुदायका मानिसहरूले अकालमा मृत्युवरण गर्नुपरेको निष्कर्ष निकालेको थियो । २०८१ जेठमा राष्ट्रिय मानव अधिकार आयोगले राउटे समुदायको संरक्षण, सुरक्षा, र उनीहरूको प्रथासँग सम्बन्धित अभ्यासको निरन्तरताका लागि विशेष कानुनी व्यवस्था गर्न तीन तहका सरकारलाई निर्देशन दिएको थियो । निर्देशनमा आयोगले राउटे बस्ती स्थानान्तरण सँगसँगै स्थानान्तरण हुने गरी घुम्ती प्रहरी चौकी स्थापना गर्न, राउटे समुदायको सामाजिक, सांस्कृतिक संरक्षणका लागि संरक्षित क्षेत्र घोषणा गर्न, राउटे बस्ती स्थानान्तरणसँगै प्रशासन, पञ्जिकरण, खाद्यान्न, राहत, पोषण, स्वास्थ्य लगायतका सेवाहरूका लागि घुम्ती एकीकृत सेवा केन्द्र स्थापना गर्न, राउटे बस्तीमा मदिरा र सुर्तीजन्य पदार्थको बिक्री–वितरण बन्द गर्न, राउटे, खाम्ची भाषाको पाठ्यक्रम विकास गर्न भनेको थियो।
नेपालका जुनसुकै ठाउँमा पुगेर बस्न पाउने राउटे समुदाय पञ्जीकरण विभागमा भने गुराँस–८ का बासिन्दा रहेका उनीहरूले नागरिकता भने बनाउन मानेका छैनन् । गुराँस गाउँपालिका –८ का वडाध्यक्ष एवम् गुराँस गाउँपालिकाका प्रवक्ता दीपेन्द्र वलीले गुराँस गाउँपालिकाले राउटे समुदायका हितका लागी बस्तीको कुरा गरेको र नागरिकता दिन खोजेको भए पनि राउटेहरूले नै नमान्ने गरेको बताए । उनले भने २०७५ सालमा गुराँस गाउँपालिकाले उनीहरूलाई ‘राउटे परिचयपत्र’ समेत दिएको छ । राउटे समुदाय सुर्खेतको लेकबेसी नगरपालिका ८ चिसापानीमा बस्दै आएका छन ।
फोटो क्याप्सन ः लेकबसी नगरपालिका –८ चिसापानीमा बस्दै आएका राउटे समुदाय । कमल शर्मा