Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

खानेपानीको बक्यौता एक करोड

कमल शर्मा
दैलेख :  नारायण नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नारायण नगरपालिकामा शुद्ध पिउने पानी वितरण गरेबापत उपभोक्ता बाट एक करोड रुपियाँ असुल गर्न सकेको छैन । खानेपानीको प्रयोग गरेबापत सरकारी, गैरसरकारी सङ्घसंस्था सर्वसाधारण उपभोक्ताले वर्षौँदेखि महसुल नतिरेका कारण बक्यौता रकम बढ्दै गएको छ । नारायण नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको महसुल तिर्नका लागी बारबार ताकेता गरेको भए पनि सरकारी तथा गैरसरकारी सङ्घ संस्था र उपभोक्ताले त्यसको सुनुवाइ नगर्ने समस्याका कारण बक्यौता रकम बढ्दै गएको जानकारी दिएको छ ।
नारायण नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति दैलेखका कार्यालय प्रमुख इन्जिनियर राजन खड्काले खानेपानी प्रयोग गरेका उपभोक्ता र सरकारी तथा गैर सरकारी सस्ताहरूले महसुल तिर्न नमानेका कारण बक्यौता रकम बढ्दै गएको बताए । उनले सरकारी तथा गैरसरकारी सङ्घ संस्था र उपभोक्ता बाट एक करोड बक्यौता रकम उठान बाँकी रहेको बताए । नारायण नगर खानेपानी आयोजना निर्माण गर्दा नगर विकास कोष सँग लिएको ११ करोड २० लाख ऋणको ब्याज मासिक सात लाख ५० हजार तिर्न समेत समस्या भएको खड्काले बताए । उनले भने नगरपालिकाले नगरबासीलाई पानी खुवाए बापत नारायण नगरपालिकाले तिर्नुपर्ने रकम समेत २० लाख र अन्य सरकारी तथा गैरसरकारी सङ्घ संस्था सँग ७३ लाख भन्दा बढी रकम रहेको छ ।
नारायण नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका संयोजक एवम् नारायण नगरपालिका–१ का वडाध्यक्ष सन्देश कुमार श्रेष्ठले खानेपानीको महसुल तिर्न उपभोक्तालाई आग्रह गरिएको भए पनि त्यसको कुनै सुनुवाइ नभएको बताए । उनले खानेपानीको महसुल उठाउनकै लागी भए पनि समितिले सूचना जारी गरी ३० हजार भन्दा बढी बक्यौता रहेका व्यक्ति र सरकारी कार्यालयको नाम सार्वजनिक गर्दा समेत महसुल उठ्न नसकेको बताए । नाम सार्वजनिक भएपछि केही व्यक्तिहरूले महसुल तिरेको भए पनि धेरै तिर्न बाँकी रहेको हुँदा समितिले भदौ १४ गते समितिको बैठक बोलाएर महसुल नतिर्नेहरूको धाराको लाइन काट्ने विषयमा छलफल हुने श्रेष्ठले बताए । समितिको निर्वाचन हुन नसकेको र वडाध्यक्षले नै सञ्चालन गर्नु पर्ने बाध्यता आएका कारण आफूले त्यसको नेतृत्व गरी धेरै सुधार समेत गरेका छौँ उनले भने ।
समितिले नेपाल सरकारले निर्माण गरेको खानेपानी नियमावली २०८१ बमोजिम उपभोक्ताले नियमित महसुल नतिरेको अवस्थामा धारा काट्न पाइने व्यवस्था बमोजिम त्यस प्रक्रिया अगाडी बढाएको समितिको भनाइछ । समितिले पावर र पहुँच भएका र समाजकै प्रतिष्ठित ब्यक्ती बाट महसुल नउठ्दा सेवा प्रवाह देखी मर्मतमा समेत समस्या हुने समितिले जनाएको छ । समितिले केही दिन अघि सार्वजनिक गरेको नामावलीमा सबै भन्दा धेरै महसुल तिर्न जिल्ला स्वास्थ्य सेवा कार्यालय रहेको पाइएको छ । स्वास्थ्य सेवा कार्यालयमा जोडिएका तीन वटाको महसुल १४ लाख ९४ हजार २८३ पुगेको छ । समितिले दिएको जानकारी अनुसार नारायण नगरपालिकाले तिर्नु पर्ने २० लाख , ३० हजार माथिको बक्यौता करिब १५ लाख र ३० हजार मुनीको बक्यौता ६० लाख रुपियाँ गरी एक करोडको हाराहारीमा बक्यतौ उठ्न बाँकी रहेको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय, त्रिभुवन माध्यमिक विद्यालय, जनता आधारभूत विद्यालय, लगायतले समेत खानेपानीको महसुल तिरेका छैनन् । नारायण नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले धारा जडान गरेको छ ।