स्थानीय तहमा बर्षेनी थपिदैँ बेरुजु

कमल शर्मा
दैलेख : स्थानीय तहका जनप्रतिनिधिले आफु अनूकुल प्रशासन चलाउने र आर्थिक अपचलन गर्ने तर्फ उन्मुख हुँदा स्थानीय तहमा बर्षेनी बेरुजु थपिदैँ गएको छ । कानुन बिपरित सेवा सुविधा,अबण्डा बजेट,सवारी साधन खरिद,इन्धन र मर्मत,कर्मचारी भर्ना,डिपिआर तथा गुरुयोजना,उपभोक्ता समिति मार्फत विकास निर्माणका काममामा स्थानीय तहले मनलाग्दी खर्च गर्दा दैलेख जिल्लाका ११ स्थानीय तहमा बेरुजु थपीदै गएको हो ।
जिल्लाको नारायण नगरपालिकाको अघिल्लो आर्थिक बर्ष सम्मको बेरुजु २० करोड ३३ लाख ९६ हजार रहेकोमा २७ लाख ९१ हजार बेरुजु पछ्यौट गरिएको भएपनि आर्थिक बर्ष २०८०/०८१ मा २१ करोड ९६ लाख ५५ हजार बेरुजु पुगेको छ । नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१मा कुल एक अर्ब ३१ करोड ९१ लाख ९९ हजारको लेखापरिक्षण गरिएकोमा तीन करोड ८६ लाख ५६ हजार बेरुजु देखिएको छ । प्रतिबेदनमा उल्लेख गरिए अनुसार प्रक्रिया बाट एक करोड ९६ लाख छ हजार पछ्र्यौट भई बाँकी बेरुजु एक करोड ९० लाख ५० हजार मध्ये असुल गर्नु पर्ने बेरुजु छ लाख ३६ हजार,प्रमाण कागजात पेश गर्नुपर्ने ४६ लाख ६४ हजार, नियमित गर्नुपर्ने एक करोड ३७ लाख ५० हजार रहेको छ । महालेखाको प्रतिबेदन अनुसार आर्थिक बर्ष २०८०/०८१ मा एक करोड ८१ लाख ४३ हजार पाँच सय बेरुजु थपिएको छ ।
त्यस्तै दुल्लु नगरपालिकाको अघिल्लो आर्थिक बर्ष सम्मको बेरुजु ३४ करोड १८ लाख लाख १० हजार रहेकोमा तीन लाख १८ हजार बेरुजु पछ्यौट गरिएको भएपनि यो आर्थिक बर्ष सम्मको बेरुजु ३८ करोड ६५ लाख २२ हजार बेरुजु पुगेको छ । नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा एक अर्ब ९१ करोड ५७ लाख ९० हजारको लेखापरीक्षण गर्दा पाँच करोड १३ लाख तीन हजार बेरुजु देखिएको छ । महालेखाको प्रतिबेदनमा भनिएको छ प्रक्रिया बाट ६२ लाख ७३ हजार पछ्यौट भएपनि चार करोड ५० लाख ३० हजार मध्ये प्रमाण कागजात पेश गर्नु पर्ने दुई करोड २१ लाख ७६ हजार ,नियमित गर्नु पर्ने एक करोड ६७ लाख ६५ हजार र पेश्की बाँकी १७ लाख ३३ हजार रहेको छ । नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा चार करोड४७ लाख १२ हजार बेरुजु थपीएको छ ।
आठसबिस नगरपालिका राकमकर्णालीमा गत आर्थिक बर्ष सम्म कुल ५७ करोड २७ लाख ६० हजार बेरुजु देखिएकोमा नौ करोड २४ लाख ८७ हजार पछ्यौट गरेको भएपनि आर्थिक बर्ष २०८०/०८१ मा पाँच करोड नौ लाख ५४ हजार बेरुजु थपिएको छ । पालिकाको एक अर्ब ३३ करोड ६५ लाख २२ हजारको लेखापरिक्षण गर्दा पाँच करोड ३० लाख २० हजार बेरुजु देखिएको थियो । जस मध्ये प्रक्रिया बाट सात लाख ४६ हजार बेरुजु पछ्यौट भएपनि बाँकी बेरुजु पाँच करोड २२ लाख ७४ हजार मध्ये असुल गर्नु पर्ने बेरुजु ५३ लाख २३ हजार, नियमित गर्नु पर्ने दुई करोड ६२ लाख २४ हजार कागजात पेश गर्नु पर्ने दुई करोड दुई लाख ८२ हजार र पेस्की बाँकी चार लाख ४५ हजार रहेको छ । महालेखाको प्रतिबेदनमा उल्लेख गरिए अनुसार आठबिस नगरपालिकाको कुल बेरुजु ५८ करोड ३५ लाख एक हजार रहेको छ ।
त्यस्तै चामुण्डाबिन्द्रासैनी नगरपालिकाका समेत आर्थिक बर्ष २०८०/०८१ मा बेरुजु थपिएको छ । महालेखाको प्रतिबेदनमा उल्लेख गरिए अनुसार नगरपालिकाको आघिल्लो आर्थिक बर्ष २०७९/२०८० मा ३० करोड २६ लाख ७१ हजार बेरुजु रहेकोमा हाल सम्मको बेरुजु ३८ करोड २९ लाख ८५ हजार पुगेको छ । नगरपालिकामा २०८०/०८१ मा आठ करोड तीन लाख १४ हजार बेरुजु थपिएको छ ।
ठाटिकाँध गाउँपालिकामा कुल बेरुजु ३८ करोड ८९ हजार ३९ हजार पुगेको छ । आर्थिक वर्ष २०७९/२०८० मा ३२ करोड ५४ लाख २७ हजार बेरुजु रहेकोमा आर्थिक वर्ष २०८०÷२०८१ मा छ करोड ४२ लाख ९३ हजार बेरुजु थपिएको छ । भैरवी गाउँपालिकाको गत आर्थिक बर्ष सम्ममा २९ करोड ७४ लाख ७३ हजार रहेकोमा पाँच लाख ८८ हजार पछ्यौट भएको छ । आर्थिक बर्ष २०८०/२०८१ छ करोड १८ लाख ६८ हजार थपीदा कुल बेरुजु ३५ करोड ८७ लाख १० हजार पुगेको छ । महावु गाउँपालिकाको आर्थिक वर्ष २०७९/२०८० सम्मको १४ करोड ४९ लाख तीन हजार बेरुजु रहेकोमा ६४ लाख १३ हजार पछ्यौट गरेपनि आर्थिक वर्ष २०८०/०८१ मा तीन करोड ३१ लाख ७६ हजार बेरुजु थपिएको छ । गाउँपालिकाको कुल बेरुजु १७ करोड चार लाख ६९ हजार रहेको छ ।
त्यस्तै नौमुले गाउँपालिकाको आर्थिक बर्ष २०७९/२०८०सम्मको बेरुजु ३२ करोड ४७ लाख ८१ हजार रहेकोमा २१ लाख ९७ हजार बेरुजु पछ्यौट गरेको छ । गाउँपालिकामा आर्थिक वर्ष २०८००८१ मा ६ करोड आठ लाख ४१ हजार बेरुजु थपीएर ३८ करोड ३३ लाख ७५ हजार पुगेको महालेखाको प्रतिबेदनमा उल्लेख छ । भगवतीमाई गाउँपालिकाको २०७९÷२०८०सम्मको बेरुजु १३ करोड १४ लाख १५ हजार रहेकोमा ६४ लाख ८० हजार बेरुजु पछ्यौट गरेको छ । गाउँपालिकामा गएको आर्थिक बर्षमा एक करोड ३८ लाख सात हजार बेरुजु थपीदा १३ करोड ८१ लाख ८७ हजार रहेको छ ।
डुगेश्वर गाउँपालिकाको आर्थिक बर्ष २०७९/२०८० सम्मको कुल बेरुजु १६ करोड ५० लाख ६० हजार मध्ये एक लाख ८३ हजार पछ्यौट गरेको छ । गाउँपालिकामा आर्थिक बर्ष २०८०/०८१ मा दुई करोड ३२ लाख ७८ हजार बेरुजु थपीएर १८ करोड ७३ लाख ४२ हजार आवाधिक बेरुजु पुगेको छ । गुराँस गाउँपालिकाको बेरुजु ५१ करोड १२ लाख ३३ हजार रहेकोमा एक करोड ९६ लाख १३ हजार बेरुजु पछ्यौट गरेको छ । गाउँपालिकामा आर्थिक बर्ष २०८०/०८१ मा तीन करोड १२ लाख ९१ हजार बेरुजु थपिएर कुल बेरुजु ५२ करोड २२ लाख ९३ हजार आवाधिक बेरुजु रहेको छ ।
स्थानीय सरकार संचालन ऐन २०७४,सार्वजनिक खरिद २०६३ ऐन,अन्तरसरकारी बित्त ब्यबस्थापन ऐन २०७४,कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशिका,भ्रमण खर्च नियमावली २०६४,कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी ऐन २०७६ ऐनको पुर्ण पालना नगर्दा स्थानीय तहमा बेरुजु बढेको सुशासनबिज्ञले बताएका छन ।
सुशासन बिज्ञ दुर्लभ बोगटीले स्थानीय सरकारले जनताको घरदैलोको सरकारले कसरी सेवा दिने भन्दा पनि कार्यकर्तालाई रिझाउने र आफुअनुकुल बजेट बितरण गर्ने समस्याले बेरुजु बर्षेनी थपिदै गएको बताए । उनले महालेखाले प्रत्येक बर्ष खर्चमा मितब्ययी र आर्थिक पारदर्शीताका लागी सुझावहरु दिने गरेको भएपनि स्थानीय सरकारका प्रमुखहरुले नर्टेने गरेको बताए । उनले भने यहि गतिमा स्थानीय सरकार गएको खण्डमा स्थानीय तह माथी गम्भिर चुनौती सिर्जना हुन्छ ।