Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

कर्णाली प्रदेशमा सुरु भयो घर बीमा कार्यक्रम

सुर्खेत  :   कर्णाली प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण तथा नागरिकको आर्थिक सुरक्षा सुनिश्चित गर्न घर बीमा कार्यक्रम सुरु गरेको छ। प्रदेश सरकारको आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रमअनुसार आजदेखि यो कार्यक्रम औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।
कार्यक्रमको पहिलो चरणमा प्रदेशभरिका १५ वटा स्थानीय तहका २१३ वडामा १६ हजार ७२ घरधनीको घर बीमा गरिएको छ। प्राकृतिक विपद् जोखिम अत्यधिक रहेको कर्णाली प्रदेशका नागरिकले प्रत्येक वर्ष जनधनको क्षति व्यहोर्नुपरेको सन्दर्भमा यो कार्यक्रम नागरिकको सम्पत्तिको सुरक्षा गर्न महत्वपूर्ण कदमका रूपमा अगाडि ल्याइएको हो।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार घर बीमा कार्यान्वयनका लागि आवश्यक कार्यविधि २०८१ फागुन १३ गते मन्त्रिपरिषदबाट पारित भइसकेको थियो। सोही कार्यविधिअनुसार नेपाल बीमा प्राधिकरणले छनोट गरेका २३ स्थानीय तहमध्ये १५ स्थानीय तहबाट समयमै विवरण पठाइएपछि ती क्षेत्रमा बीमा पोलिसी जारी गरिएको हो। बीमा कार्यक्रमअन्तर्गत प्रतिघर अधिकतम २० लाख रुपैयाँसम्मको बीमा प्रिमियम प्रदेश सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ। हालसम्म प्रिमियम बापत जम्मा ९८ लाख २४ हजार ८९३ रुपैयाँ भुक्तानी भइसकेको मन्त्रालयका सचिव पुष्पराज शाहीले जानकारी दिए।

कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको भौगोलिक बनावट र प्राकृतिक जोखिमलाई दृष्टिगत गर्दै घर बीमा कार्यक्रम सुरु गरिएको बताए। “थोरै रकममा घरजग्गा सुरक्षित गर्न सकिन्छ,” मुख्यमन्त्री कँडेलले भने, “क्षति भएपछि मात्र राहत माग्नेभन्दा पहिले नै बीमा जस्तो उपायले सुरक्षा लिने प्रवृत्तिमा स्थानीय तहले जोड दिनुपर्छ।”

कार्यक्रममा सहभागी पालिकाका जनप्रतिनिधिहरूले कर्णालीजस्तो जोखिमयुक्त प्रदेशमा घर बीमा कार्यक्रमले नागरिकको सुरक्षामा थप बल पुगेको भन्दै प्रदेश सरकारलाई धन्यवाद दिएका छन्। उनीहरूले स्थानीय तहबाट आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाए।

यस वर्षको बजेटमा बीमा कार्यक्रमका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। अबको चरणमा अघिल्लो वर्ष समेटिन बाँकी रहेका पालिकाहरुलाई पनि समेट्ने तयारी छ। कार्यविधिअनुसार घर बीमाले भूकम्प, आगलागी, पहिरो, डुबान, चट्याङ, हावाहुरी, स्वजलन, आकाशीय सामग्री, हुलदंगा, आतंकवादजस्ता विभिन्न जोखिमबाट हुने क्षतिको भरपर्दो सुरक्षा दिनेछ।