राउटे सहभागितामा वृक्षारोपण

सुर्खेत : लोपोन्मुख राउटे समुदायको सहभागितामा पूर्वी सुर्खेतको लेकवेशी नगरपालिका–९ स्थित ओखलढुङ्गाको डाँडामा वृक्षारोपण गरिएको छ। खाँडदेवी सामुदायिक वन क्षेत्रअन्तर्गत आइतबार आयोजित कार्यक्रममा राउटे समुदायले खयर, सिसौं, चिउरी, हर्रो, बर्रो, अमला लगायतका ३ सयभन्दा बढी बहुवर्षीय काष्ठ तथा जडीबुटीजन्य बिरुवा रोपेका हुन्।
डिभिजन वन कार्यालय सुर्खेतका डिभिजनल वन अधिकृत बसन्तबाबु श्रेष्ठका अनुसार, वातावरण संरक्षणको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने प्रजातिका बिरुवाहरू रोपिएको हो। खाँडदेवी वन उपभोक्ता समूहको आयोजनामा कार्यक्रम सगरमाथा वृक्षारोपण महाअभियानअन्तर्गत सञ्चालन गरिएको हो।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठले जंगलमै आश्रित जीवन बिताउने राउटे समुदायको वृक्षारोपणमा सक्रिय सहभागिताले वातावरणीय सन्तुलन कायम गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।
लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेलले तापक्रम नियन्त्रण, हरियाली संरक्षण र राउटे समुदायको जीवनस्तर उकास्न वृक्षारोपण अपरिहार्य भएको बताए । राउटे मुखिया शेरबहादुर शाहीले पछिल्लो समय आफैंलाई आवश्यक काठपात र जडीबुटी जंगलमा सहजै नपाइएकाले अब आफैंले रोप्नुपर्ने अवस्था आएको बताए ।