दैलेखमा लागू औषध र आत्महत्या बढ्दो

दैलेख : दैलेखमा जिल्लामा पछिल्लो समय लागु औषध र आत्महत्याका घटनामा बृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयले आज दैलेख सदरमुकाममा आयोजना गरेको पत्रकारसंग छलफल कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
‘अघिल्लो आर्थिक वर्षमा कुल १ सय १६ वटा अपराध घटना मध्ये ४४ जनाले झुण्डिएर र ३ जनाले विष सेवन गरी ज्यान हालेका समेत ४७ जनाले आत्महत्या गरेका छन्, आत्महत्या रोकथाममा प्रभावकारी सचेतना आवश्यक भएको छ’ दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले बताए ।
आत्महत्या गर्नेहरुको उमेर समूह विश्लेषण गर्दा १६ वर्ष मुनिका ५ जना, १६–२५ वर्षका १८ जना, २५–४५ वर्षका ५ जना, ४५–६० वर्षका १५ जना र ६० वर्ष नाघेका ५ जना छन् । जातिगत हिसावले दलित १९, क्षेत्री १६, जनजाति ९ र ब्राम्हण ४ ले आत्महत्या गरेका छन् । मृतकहरुको संख्यालाई लैंगिकता केलाउँदा महिला २५ र पुरुष २२ छन् ।
प्रहरीले दिएको विवरण अनुसार अघिल्ला दुई वर्षको तुलनामा आर्थिक वर्ष २०८१÷०८२ अवधिमा लागू औषध तेब्बर बढेको छ । अघिल्ला दुई वर्षमा ४/४ वटा मुद्दा चलेकोमा ६/६ जना पक्राउ परेका थिए भने आर्थिक वर्ष २०८१÷०८२ मा चाहिं ११ वटा मुद्दा चलेकामा १९ पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले आत्महत्या ४७, बलात्कार घटना २५, लागू औषध ११, सवारी दुर्घटना ९, व्यक्ति हत्या ७, ज्यानमार्ने उद्योग ७, आत्महत्या दुरुत्साहन ६, हातहतियार २ र ठगी घटनाका २ समेत १ सय १६ वटा मुद्दा चलेका पहरेदारलाई जानकारी दिनुभयो ।
अपराध नियन्त्रणमा सामाजिक सहकार्यता बढाउन दैलेख प्रहरीले आफ्ना २५ वटा इकाई मार्फत आर्थिक वर्ष २०८१र०८२ अवधिमा ५ सय ६१ सामुदाय प्रहरी साझेदारी सचेतना कार्यक्रम, ३ सय ५१ जनाको प्रहरी बुझ्ने र सिफारिस सेवा, विपद परेका १ सय २७ जनालाई उद्धार गरेको जानकारी दिएको छ ।