जेहेन्दार छात्रालाई छात्रवृत्ति वितरण

दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययरत विद्यार्थीलाई छात्रबृति बिवतरण गरेको छ । नगरपालिकाको १३ वटै माध्यमिक विद्यालयहरूबाट कक्षा ९ देखि १२ सम्म अध्ययनरत प्रत्येक विद्यालयका दुई–दुई जना छात्राहरू गरी कुल २६ जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाले दिएको जानकारी अनुसार २ लाख रुपैयाँको छात्रवृत्ति कोषबाट हरेक छात्रालाई बराबर रूपमा ७ हजार ६ सय ९० रुपैयाँका दरले वितरण गरिएको छ ।
छात्रबृति बितरणमा बोल्दै नगरप्रमुख गणेश कुमार शाहीले विद्यार्थीहरूमा अनुशासन र निरन्तरता अत्यावश्यक भएको उल्लेख गर्दै, आर्थिक अभावका कारण कोही पनि शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले नगरपालिकाले विद्यार्थीहरूको अध्ययनमा उत्साह थप्न र प्रेरणा प्रदान सहयोग पुग्ने बताए ।
नगरउपप्रमुख मनसरा कुमारी शर्माले न्यून आयस्तर भएका परिवारका बालिकाहरूलाई लक्षित गर्दै सञ्चालित यस छात्रवृत्ति कार्यक्रमले शिक्षामा निरन्तरता दिन आवश्यक न्यूनतम शैक्षिक सामग्री खरिदमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।


