वन क्षेत्र निरन्तर घट्दै गएको प्रति मुख्यमन्त्रीको चिन्ता

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले वन क्षेत्र निरन्तर घट्दै गएको प्रति चिन्ता व्यक्त गर्दे वन क्षेत्र मास्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय सुर्खेतद्वारा आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कंडेलले राज्यले हरेक वर्ष वृक्षारोपणमा ठुलो लगानी गर्दै आए पनि वन क्षेत्र घट्दो क्रममा रहेको बताएका हुन ।
‘‘प्रत्येक वर्ष लाखौं बिरुवा रोपिन्छन् राज्यको ठुलो लगानी हुन्छ,’’ उनले भने तर वन क्षेत्र विस्तारको सट्टा सङ्कुचित हुँदै गएको छ । पछिल्लो समयमा मिलेमतोमा वन मास्ने प्रवृत्ति बढेको छ, अब यसलाई रोक्नु जरुरी छ ।’’कंडेलले वृक्षारोपणसँगै त्यसको रेखदेख र संरक्षणमा सबै सरोकारवाला जुट्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले मन्त्रालयले वन क्षेत्र संरक्षण तथा विस्तारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए । यही अभियानअनुसार यस वर्ष सुर्खेतमा करिब तिन लाख ५० हजार विरुवा रोप्ने लक्ष्य रहेको बताए ।


