Loading... आजः बिहिबार, असार १२, २०८२
Trending

पर्यटन पवद्र्धन गर्न जाऊँ है पोखरा अभियान


सुर्खेत :  कर्णाली र गण्डकी प्रदेशको आन्तरिक पर्यटन प्रवर्द्धनको अभियान लिएर पोखराका होटल व्यवसायीहरू आइतवार कर्णाली पुगेका छन् । आन्तरिक पर्यटकमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल संघ पोखरा जाऊँ है पोखरा अभियान लिएर कर्णाली पुगेको हो ।
आन्तरिक पर्यटक नै दिगो पर्यटन विकास भन्ने मूल मर्मका साथ घुम्ने बानीको विकास गराउन अभियान लिएर पश्चिम नेपालको यात्रामा निस्किएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । कर्णाली र गण्डकी प्रदेशको पर्यटकीय सम्भावना केलाउँदै पर्यटकलाई अन्तरप्रदेश आवतजावतमा जोड्नु अभियानको मुख्य उद्देश्य रहेको उनले बताए ।

नेपालीहरूको भ्रमण गर्ने संख्यामा वृद्धि हुँदै गएको अवस्थामा विदेशी मात्र नभई स्वदेशी पनि पर्यटक हुन् भन्ने मान्यतालाई अनुसरण गर्दै पर्यटनका माध्यमबाट सातै प्रदेश जोड्ने हाम्रो उद्देश्य हो,उनले भने । गत वर्षको फागुनमा पूर्वी नेपालका विभिन्न शहरमा अभियान सम्पन्न गरिएको उनले बताए ।

होटल संघ पोखराले दुई दशकअघि सुरु गरेको अभियानले आन्तरिक पर्यटक नै दिगो पर्यटनको आधार हुन् भन्ने मान्यताअनुरुप आन्तरिक पर्यटन प्रवर्द्धनमा विशेष जोड दिँदै आएको उनले बताए । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धनमा २९ जेठदेखि आगामी २ असारसम्म पश्चिम नेपालका बुटवल, नेपालगञ्ज, सुर्खेत र दाडमा अभियान सञ्चालन हुन लागेको उनले बताए ।