विज्ञान शिक्षालाई गुणस्तर बनाउन शिक्षक समाज गठन

सल्यान : सल्यानमा विज्ञान शिक्षाको गुणस्तर सुधार र शिक्षकहरुको सशक्तिकरणका लागि शिक्षकहरु संगठित भएर योजनाबद्ध रुपमा लागेका छन् ।
विज्ञान शिक्षालाई प्रभावकारी बनाउन, विज्ञान शिक्षासँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्न र जिल्लाभरका पालिकाहरुमा एकरूपता ल्याउन विज्ञान शिक्षक समाज नेपाल जिल्ला कार्यसमितिले पहल थालेको हो ।
विज्ञान शैक्षिक सामग्री निर्माण, विज्ञान प्रतिभा पहिचान कार्यक्रम तथा विज्ञान शिक्षक तालिम जस्ता गतिविधि सञ्चालनका लागि जिल्लाका दशवटै स्थानीय तहमा आवश्यक बजेट व्यवस्थापनका लागि माग गर्ने निर्णय भएको विज्ञान शिक्षक समाज सल्यानका अध्यक्ष ललित पुनले जानकारी दिए ।
उनले भने हामीले हालै जिल्ला कार्यसमितिको विस्तारित बैठक श्रीनगरमा सम्पन्न गरेका छौँ । जिल्ला शिक्षा समन्वय इकाइ सल्यान तथा सबै पालिकाका शिक्षा शाखासँग समन्वय गरी पाठ्यक्रम प्रबोधिकरण, परियोजना कार्य, प्रयोगात्मक कक्षा सञ्चालन लगायतका विषयमा विस्तृत तालिम सञ्चालन गर्ने निर्णय भएको छ ।
जिल्लाका सबै पालिकाहरुमा कार्यसमिति गठन गर्ने अभियान स्वरुप बाँकी रहेका पालिकाहरुमा समिति निर्माणका लागि शिक्षक प्रतिनिधीहरुलाई जिम्मेवारी पनि तोकिएको समाजले जनाएको छ । प्रविधिमैत्री शिक्षण प्रणालीलाई टेवा पु¥याउने उद्देश्यले कक्षा ८ र १० का लागि विज्ञान विषयको सम्पूर्ण कोर्स सामग्रीलाई समेट्ने पावरपोइन्ट स्लाइड निर्माण गर्न समिति गठन गर्ने र जिम्मेवारी बाँडफाँड सहित अघि बढ्ने तयारी समेत समाजले गरेको छ ।