Loading... आजः बुधबार, मंसिर ११, २०८२
Trending

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित


काठमाडौँ :  प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रतिपक्षद्वारा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगन गरेका थिए । आधा घण्टापछि पनि बैठक सुचारु नभएपछि सूचना टाँस गरेर दिउँसो साढे २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

बैठक सञ्चालन गर्न सभामुख घिमिरेले कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका नेताहरूसँग छलफल गरे पनि सहमति नभएपछि भोलि ११ बजेसम्मका लागि संसद् बैठक स्थगित गरिएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले सदनमा माग गरेपछि अवरोध भएको हो ।

सभाको आजको बैठक सुरु भए लगत्तै प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गरेका थिए ।

त्यसअघि सभामुख घिमिरेले नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेलाई सत्तापक्षका तर्फबाट बोल्ने समय उपलब्ध गराएका थिए । सत्तापक्षका सांसदलाई बोल्न नदिन रास्वपाका सांसदहरूले उठेर नाराबाजी गरेका थिए ।सदनमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्ष दलका सांसदहरूले सत्तापक्षका सांसदहरूलाई बोल्न अवरोध गरेका थिए ।

रास्वपाका सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संग्लनताका विषयमा उच्चस्तरीय अनुसन्धान आयोग बनाउनुपर्ने माग गरे । उनले सो प्रकरणमा सङ्गठित रूपमा भ्रष्टाचार भएको भन्दै एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म सदन चल्न नदिने जिकिर गरे ।
ुत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा निर्दोष युवालाई लुटेर करोडौँको अवैध असुलीको र्‍याकेट चलिरहेको छ,सांसद खनालले भने, ुगृहमन्त्रीले पठाउनुभएको सहसचिव विवादित पृष्ठभूमिको हुनुहुँदो रहेछ । तर किन उहाँलाई अध्यागमनमा पठाइयो । गृहमन्त्रीको पनि स्वार्थ जोडिएको छ ।