Loading... आजः सोमवार, बैशाख २९, २०८२
Trending

दैलेख महोत्सव हुँदै

दैलेख  :  दैलेखमा उत्पादित कृषिजन्य वस्तुको बजारिकरण, स्थानीय कला तथा संस्कृतिको संरक्षण र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न दैलेख साँस्कृतिक तथा पर्यटन महोत्सव–२०८१ आयोजना हुने भएको छ । दैलेख सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा महोत्सव मूल समारोह समितिका संयोजक भुपेन्द्र शाहीले यहि चैत्र २६ गतेदेखि बैशाख ५ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी दिए ।

संयोजक शाहीका अनुसार महोत्सवमा दैलेख जिल्लाका स्थानीय तहमा उत्पादन हुने कृषिजन्य वस्तुहरूको बजारिकरणका  साथै लहरेपैँचेरी नाँच, ढालतरवार नाँच, देउडा तथा रत्यौली नाँच, हुड्के नाँच, मयुर नाँच, टप्पा नाँच, गर्रा नाँचजस्ता सांस्कृतिक झलक प्रस्तुत गरिनेछ ।

लोपोन्मुख सांस्कृतिक सम्पदा तथा परम्परागत जीवनशैलीलाई जगेर्ना गर्न महोत्सव महत्वपूर्ण रहने संयोजक शाहीले बताए । महोत्सव स्थलभित्र स्थानीय उत्पादन, कला, संस्कृति, पेसा–व्यवसाय तथा परम्परागत परिकार प्रदर्शनका लागि एक सयभन्दा बढी स्टल राखिने र महोत्सवमा २५ देखि ३० लाख रूपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको उनको भनाइछ ।
महोत्सवको मुख्य आयोजक रेडियो मातृभूमी एफ.एम ९६.५ मेगाहर्ज दैलेख र स्वच्छ शहर निर्माण केन्द्र दैलेख रहेका छन्। सहआयोजकमा नेपाल घरेलु तथा साना उद्योग महासंघ, जिल्ला शाखा दैलेख तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जिल्ला शाखा दैलेख रहेका छन्। नारायण नगरपालिका महोत्सवको संरक्षक तथा प्रवर्द्धकको भूमिकामा रहेको छ।