हुम्लाका किशोरीहरू एचपिभी खोपको पहुँचबाट वञ्चित
हुम्ला: हुम्लाका किशोरीहरू एचपिभी खोपबाट वञ्चित भएका छन् । सरकारले देशैभरका किशोरीहरूमा खोप लगाउने गरी अभियान सञ्चालन गरे पनि यहाँ खोप लगाइएन ।
नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँमा राष्ट्रिय अभियानका रूपमा सञ्चालन भएको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ९ एचपिभी ० सञ्चालन हुन सकेको छैन । लिमी जाने दुई वटा नाका चार हजार ६७० मिटर अग्लो नारा र पाँच् हजार मिटर अग्लो न्यालु लेकमा हिमपातको कारण बन्द भएपछि भ्याक्सिन पुर्याउन नसकिने अवस्था आउँदा खोप अभियान सञ्चालन हुन नपाएको हो ।
स्वास्थ्य सेवा कार्यालयका खोप कार्यक्रमका सम्पर्क व्यक्ति प्रेम पाण्डेले भ्याक्सिन ढुवानी गर्न नसकिने भएको कारण यति बेला जिल्लाभर सो खोप अभियान सञ्चालन भएको भए पनि लिमीमा भने सुरु नभएको बताएका छन् । लिमी जाने दुवै नाका बन्द रहेको कारण स्वास्थ्यकर्मी लिमी मै भएको भए पनि भ्याक्सिन ढुवानी गर्न नसकिएको अवस्था रहेको कारण खोप अभियान सञ्चालन गर्न नसकिएको उनले बताए ।
लिमीका लागि भ्याक्सिन भने गाउँपालिका स्वास्थ्य शाखाले कार्यालयबाट बुझेर लगि सकेको छ । लिमीको सुनखानी आवि हिउँदभर सञ्चालनमा रहेको थियो । उक्त विद्यालयमा कक्षा छ देखि आठसम्म अध्ययन गर्ने किशोरीहरू छ जना रहेको र विद्यालय बाहिरका दशदेखि चौध वर्ष उमेर समूहका किशोरीहरू लिमीमा नरहेको विद्यालयका शिक्षक विकल तामाङले बताए । अब लिमीमा आगामी २०८२ सालको वैशाख महिनामा एचपिभी खोप लगाउने तालिका कार्यालय र गाउँपालिका स्वास्थ्य शाखाले तयार गरेका छन् ।