तीन वटै क्याम्पसको स्ववियु निर्वाचन स्थगीत
दैलेख : स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन दैलख जिल्लाका तीन वटा क्याम्पसमा स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालीका अनुसार मनोनयन दर्ता नगरेको र मनोनयन दर्ता गरेका क्याम्पसमा समेत विद्यार्थी संगठन बिच कुरा नमिलेका कारण दैलेखका तीनवटै क्याम्पसमा हुने स्ववियु निर्वाचन स्गगित भएको बताइएको छ ।
दैलेखमा दोर्णाञ्चल क्याम्पस दुल्लु, चामण्डा कलेज, र आठबिस शिक्षा क्याम्पसमा स्ववियु निर्वाचन हुदै थियो ।
आठबिस शिक्षा क्याम्पसमा उम्मेदवारी मनोनयनका लागी दिउसो २ बजे सम्मको समय निर्धारण गरेको भएपनि कुनै पनि संगठनले २ बजे सम्म मनोनयन गर्न नआएपछि निर्वाचन स्थगित गरिएको आठबिस शिक्षा क्याम्पसले जानकारी दिएको छ । आठबिश शिक्षा क्याम्पसका स्ववियु निर्वाचन अधिकृत सावित्रा शाहीले मनोनयनको समयसिमा बढाउने र नबढाउने विद्यार्थी संगठन बिच बिवाद भएपछि निर्वाचन स्थगित गरिएको बताइन । उनले विद्यार्थी संगठन बिच सहमती हुन नसकेपछि निर्वाचनका काम रोकिएको र सहमती हुन बित्तिकै अनिश्चित कालका लागी स्थगित भएको निर्वाचन पुन सुरु गर्ने जानकारी दिइन ।
त्यस्तै चामुण्डा कलेजका क्याम्पस प्रमुख प्रेम बहादुर बिष्टले नगरपालिकामा क्रियाशिल राजनितिक पार्टी विच स्ववियु निर्वाचन सर्बसम्मत गर्ने निर्णय गरिएको भएपनि नेपाली काँग्रेसको अर्को पक्षले नमानेर धाधली गरेपछि आफुहरुले निर्वाचन स्थगित गर्नु परेको बताए । उनले मनोनयन गर्न आउँदा सहमती नमानेको पक्षले नागरिकता, विद्यार्थी कार्ड समेत नलाएर मनोनयन गर्न खोजेको र आफु माथी हातपात गरेपछि निर्वाचन स्थगित गर्नुपरेको बताए ।
दोणाञ्चल बहुमुखी क्याम्पसमा संगठनको मनोनयन दर्ताका विषयमा विबाद भएपछि निर्वाचन स्थगित गरिएको छ । दोणाञ्चल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तेज बहादुर खड्काले स्ववियु निर्वाचनमा चार वटा संगठन मिलेर मनोनयन गर्न लागेको बेला नेबिसंघले नाराजुलुस गरेर निर्वाचन समिति माथी आक्रमण गर्न खोजेपछि निर्वाचन स्थगित गरिएको बताए । उनले अनेरास्ववियु,अनेरास्ववियु क्रान्तीकारी, नेक्राबिंसको सयुत्त मनोनयन भइरहेको समयमा एक्कासी आएर विबाद गरेको र निर्वाचन कार्यालयमा ताला लगाएपछि निर्वाचन स्थगित गर्नु परेको बताए ।