Loading... आजः शनिबार, बैशाख ६, २०८२
Trending

पञ्चदेवललाई व्यवस्थित गराइँदै


कमल शर्मा
दैलेख  : विश्व सम्पदा सुचीको सम्भाव्य सूचिमा राखिएका दैलेखको नारायण नगरपालिका–६ मा रहेका ऐतिहासिक पञ्चदेवलहरुलाई व्यवस्थित बनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेख र नारायण नगरपालिकाकाको पहलमा पुरातत्त्व विभागमा बजेट माग गरी व्यवस्थित गर्न लागिएको बताइएको छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जिल्लामा रहेका ऐतिहासिक पुरातात्त्विक सम्पदाहरूको संरक्षण अभियान अन्तर्गत नारायण नगरपालिका–६ मा रहेका पञ्चदेवलहरु बाट सुरु गरिएको बताए । उनले पञ्चदेवल क्षेत्रको घेरवार,ठाउँलाई ठम्याउने, र छरिएर रहेका देवलका चक्रहरूलाई देवलमा राख्ने काम गर्न सुरु गरिएको बताए । उनले पञ्चदेवका माथि राखिएका चक्रहरू विभिन्न समयमा खसेको र त्यसलाई कुनै निकायले नराखेको खबर आफूलाई आएपछि नेपाली सेना, नेपाल प्रहरीको सहयोगमा उक्त चक्रहरू देवलमाथि राखिएको छ ।

पंचदेवल क्षेत्रमा एकै ठाउँमा पच्चिस वटा देवलहरू रहेका छन् । देवलको टुप्पोमा रहेका केही डुङ्गाका ठुला चक्रहरू आसपास बारीका कुनामा रहेका थिए । पहिलो पटक त्यस्ता चक्रहरू पुरानै स्थानमा डोजरको सहायताले राख्ने कामहरू भएको हो प्रजिअ जैसीले बताए । नारायण नगरपालिका –६ मा रहेको पंचदेवल क्षेत्रमा स्थानीय सरकार, प्रदेशदेखि केन्द्र सरकारले पर्याप्त बजेट विनियोजन हुन नसक्दा त्यसको संरक्षण गर्न समस्या भएको नारायण नगरपालिकाले जानकारी दिएको छ ।

नारायण नगरपालिकाका प्रवक्ता एवम् वडा नः ६ का वडाध्यक्ष जनक प्रसाद न्यौपानेले स्थानीय सरकारले बजेट विनियोजन गरी संरक्षण गर्न खोजिए पनि पुरातत्वविभाग सँग समन्वय गरी काम गर्नु पर्ने समस्याले नगरपालिकाले बजेट विनियोजन नगरेको बताए । उनले कोतगडी निर्माणमा अघिल्लो पटक बजेट विनियोजन गरी काम गरेको भए पनि पुरातत्वविभाग सँग समन्वय नगरेको भन्दै काम रोकेको बताए ।

नारायण नगरपालिका वडा नः ६मा २२ वटा देवलहरू रहेका छन् । यी देवलहरू चौधौँ शताब्दीतिर खस मल्ल राज्यकालमा निर्माण भएको किंवदन्तीमा उल्लेख गरिएको छ । स्थानीय भनाई अनुसार केही वर्ष पहिलेसम्म पनि यस ठाउँमा २५ वटा देवलहरू रहेकोमा हाल २२ वटा देवल रहेका छन् । २२ वटा देवललाई सन् २००८ मा विश्व सम्पदा सूचीको सम्भाव्य सूचीमा संलग्न राखिएको थियो ।