बिक्रि नभए पछि सिन्की बनाउदै सहकारी
दैलेख : कृषकले उत्पादन गरेको मुला बिक्रि नभएपछि सहकारीले मुला संकलन गरी सिन्की बनाउँन सुरु गरेको छ । सहकारी मार्फत बिऊ बिजन र प्राविधिक सहयोग दिएर मुला उत्पादन गरेको भएपनि बिक्रि नभएपछि सहकारीले आफै संकलन गरी सिन्की बनाउन सुरु गरेको हो ।
गोठपाडा कृषक सहकारी सस्थाका ब्यबस्थापक दिनेश थापाले बजारमा मुला बिक्रि नभएको र बाह्य जिल्ला पठाउँदा मुल्य नपाउने समस्याले सहकारीले आफै संकलन गरेको बताए । उनले बजारमा खपत नै हुन नसक्ने गरी मुला उत्पादन भएको र बजार मुल्य समेत नपाएपछि सहकारीले संकलन गरी मुलाको सिन्की उत्पादन गर्न सहकारी लागेको बताए ।
उनले भने सहकारी सस्थामा आवद्ध कृषकले उत्पादन गरेका सबै तरकारी तथा फलफुल सहकारीले बजारीकरण गर्ने गरेकोमा यस पटक सोचेभन्दा बढि मुला उत्पादन भएपछि सहकारीले सिन्की बनाउने भाडा किनेर सिन्की बनाएको छ । सहकारीले मुला बाहीर पठाउँदा मुल्य नपाउने र गाडी भाडा तिर्न समेत नपुग्ने भएपछि हलुका हिसावले सिन्की सजिलो हुने भएपछि सिन्की उत्पादन गर्न लागिएको थापाको भनाइछ । सिन्की उत्पादन गरेपछि त्यसको परिणाम कति निस्कीन्छ त्यसको बजारीकरणका लागी काठमाण्डौ सम्म लैजाने तयारी सहकारीले गरेको छ ।
नारायण नगरपालिका –७ किमुगाउँका कृषक श्याम बहादुर थापाले तरकारी उत्पादन भएपनि सहजै बिक्रि नहुने समस्याले सताउने गरेको बताए । उनले सहकारीले कृषकले उत्पादन गरेको मुला संकलन गरिदिदा आफुहरलाई सहज भएको बताए । उनले भने हामी कृषक उत्पादन गर्छौ तर राज्यले त्यसको बजारीकरण नगरिदिने समस्याका कारण तरकारी खेती गरेको किसान निरुत्साहीत हुने गरेका छन ।
गोठपाडा कृषक सहकारी सस्थाका अध्यक्ष मुना थापाले स्थानीय सरकारले पनि राजनितिक आस्थाका आधारमा सहकारीलाई अनुदान दिने र काम गर्ने सहकारीलाई अनुदान नदिने गरेको आरोप लगाइन । उनले राम्रो गरेका सहकारीलाई अझै राम्रो गर्न स्थानीय सरकारले प्रोत्साहन गर्नु पर्ने भएपनि पार्टी हेरेर अनुदान दिने समस्या रहेको बताइन । उनले भनिन हामीसगै दुई हजार भन्दा बढि किसान आवद्ध छन उनीहरुलाई कृषि उत्पादनमा जोड दिदै आयआर्जनमा जोडेका छौँ ।