बजेट अभावमा अलपत्र कर्णाली लिफ्ट खानेपानी आयोजना
कमल शर्मा
दैलेख : खानेपानीको अभावमा काकाकुल भएका चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नौ हजार नागरिकलाई कर्णाली नदिबाट लिफ्ट प्रविधि मार्फत पानी खुवाउने कर्णाली लिफ्ट खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेको छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ पाल्तडामा कर्णाली लिफ्ट खानेपानी आयोजना निर्माण सुरु गरेको पाँच बर्ष भइसक्दा समेत बजेट अभावमा उक्त आयोजना अलपत्र परेको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले जानकारी दिएको छ । खानेपानी आयोजना निर्माणको काम आर्थिक वर्ष २०७६/०७७ बाट सुरु गरिएको थियो । पहिलो वर्ष आयोजना निर्माणका लागी आएको कुल एक करोड ५० लाखमा ठेक्का भई आयोजना निर्माणका लागी सफल निर्माण सेवा जानकी गाउँपालिका –३ बाँकेले लिएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा आयोजना निर्माण सम्पन्न गर्न पुन संघिय सरकार प्रदेश र स्थानीय सरकारको साझेदारीमा चार करोड १६ लाख बजेट बिनियोजन भई ठेक्का हुँदा निर्माणको काम नागार्जुन टिडिआर जेभि काठमाडौँले पाएको थियो ।
नगरपालिकाको योजना शाखामा कार्यरत योजना सहायक खगेन्द्र बहादुर शाहीले उक्त लिफ्ट खानेपाली आयोजना निर्माण गर्न हाल सम्म पाँच करोड ६६ लाख बजेट खर्च भइसक्दा समेत आयोजना निर्माण हुन नसकेको बताए । उनले ठेकेदारले काम गर्ने क्रममा संघिय सरकार र प्रदेश सरकार बाट प्राप्त शर्शत समुपुरकको बजेट फ्रिज हुँदा आयोजना निर्माणको कार्य झन अलपत्र परेको बताए । उभने भने े आयोजना निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको भएपनि बजेट अभावका कारण आयोजना निर्माण हुन सकेको छैन ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ का वडाअध्यक्ष प्रेम बहादुर रावलले आयोजना निर्माण भएपछि नगरपालिकाका ५, ६, ७, ८ र ९को तल्लो भागमा बसोबास गर्दै आएका करिब नौ हजार नागरिकको खानेपानीे समस्या समाधान हुने भएपनि आयोजना निर्माण नहुँदा नागरिकलाई खानेपानी समस्या रहेको बताए । उनले अघिल्लो स्थानीय सरकारले संचालन गरेका कामको अपनत्व अहिलेका स्थानीय सरकारले नलिएका कारण आयोजना बिचमै अलपत्र परेको आरोप लगाए । उनले बजेट माग्ने,बिनियोजन गर्ने अधिकार नगर प्रमुखलाई भएपनि नगर प्रमुखले नै आयोजना निर्माणमा चाँसो नदिदा करोडौँ खर्च भएको आयोजना पुर्णता पाउन नसकेको बताए । उनले भने अघिल्ला सरकारले गरेका राम्रा कामको नेतृत्व गरी अहिलेका नगर प्रमुख लागेको खण्डमा आयोजना निर्माण गर्न सम्भव हुन्छ । उनका अनुसार आयोजना निर्माणका लागि खरिद गरिएका १ करोड बढीका निर्माण सामग्री हाल सम्म गोदाममा थन्किएका छन् । निर्माण सामग्री राखिएको गोदामको भाडा नगरपालिकाले तिर्ने भन्ने सहमति रहेको थियो । तर, हालसम्म नगरपालिकाले गोदाम भाडा समेत नतिरेको वडाध्यक्ष रावलको भनाइछ ।
नगरपालिकाका नगर प्रमुख गणेश बहादुर शाहीले बजेट अभावका कारण निर्माण हुन नसकेको कर्णाली लिफ्ट खानेपानी आयोजनाको लागी १५ औँ नगर सभा बाट ३८ लाख रुपियाँ बिनियोजन गरिएको र नपुग रकम प्रदेश सरकार र संघिय सरकार संग माग्ने तयारी गरिएको बताए । उनले प्राविधिक टोली संग समन्वय गर्दा एक करोड लागतमा खानेपानी लयाटिबिन्द्रासैनीमा आउने र त्यहा निर्माण गरिएको आरभिटि मार्फत वितरण गर्न सकिने भएपछि नगर सभाले उक्त बजेट बिनियोजन गरेको बताए । उनले भने आयोजना निर्माण गर्नका लागी सम्बन्धित निकाय संग समन्वय गरेर अगाडी बढ्ने र त्यसका लागी कार्यापालिकाबाट निर्णय गर्ने तयारीमा रहेको छु ।
आयोजना निर्माण हुन नसकेपछि त्यहाका स्थानीय नागरिकले चिन्ता ब्यक्त गरेका छन । खानेपानी ल्याउन अहिले पनि पालो कुर्नु पर्ने अबस्था छ स्थानीय नगेन्द्र रावलले भने नगरपालिकाले तत्काल आयोजना निर्माणका लागी ठोक कार्ययोजना बनाएर अगाडी बढ्नु पर्दछ । आयोजना बन्छ भन्दा खुसी थियौँ । अहिले लथालिङ्ग छ । निर्माण सामाग्री छरपस्ट छन् । गाउँमा बत्ती आयो उज्यालो भयो । खानेपानीको चिन्ताले पिरोल्न छोडेन । कर्णाली लिफ्ट खानेपानी आयोजना निर्माणका लागी स्थानीय सरकार चामुण्डाबिन्द्रासैनी नगरपालिका, संघीय र प्रदेश सरकारसँगको साझेदारीमा आयोजना सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७५÷०७६ मा सात लाखको रुपियाँ खर्च गरी (डिपिआर) निर्माण गरिएको थियो । उक्त प्रतिबेदनमा आयोजनाको जम्मा लागत १९ करोड ९९ लाख ७ हजार ९ सय ३५ रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।