Loading... आजः शुक्रबार, माघ ११, २०८१
Trending

‘वनको राजा’ को अस्तित्व संकटमा


कमल शर्मा
दैलेख  :  जंगलमा फिरन्ते जीवन बिताउँने र आफूलाई ‘वनको राजा’ भन्न रुचाउने राउटे नेपालको नागरिक हौं गर्व गर्छन बनको राजा भन्ने र राज्यले स्थायी बसोबासका लागी पहल गर्दा समेत समुदायको छेउछाउँमा बस्न नमान्ने समस्याका कारण पछिल्लो समय राउटे समुदाय संकट उन्मुख छ । अत्यधिक मदिराको सेवन गर्नु, पोषणयुक्त खानाको कमी हुनु, नवजात शिशुको हेरचाहमा कमीजस्ता कारणले उनीहरूको अस्तित्व मेटिने खतरा बढेको हो । राउटेको जनसंख्या बर्सेनि घट्दो क्रममा छ । मदिराको उच्च सेवनबाट युवादेखि वृद्धवृद्धासम्मले अकालमा ज्यान गुमाइरहेका छन् भने, हेरचाह र खानपान नमिल्दा बालबालिकाले ज्यान गुमाएका छन् । राउटे समुदाय सुर्खेतको गिरीघाँटमा बस्दै आएका छन ।
राउटे दैलेख, सुर्खेत, जाजरकोट, सल्यान आसपासका जंगलमा बस्छन ्। तर उनीहरू कहिले जंगलका छेउ त कहिले पहाडको खोंच तथा टाकुरा र नदी किनारमा बसाइँ सरिरहन्छन् । नेपालको सम्पदा र कर्णालीको गहनाको रूपमा चिनिने राउटे जाति दक्षिण एसियाकै एकमात्र फिरन्ते जाति हो । २०७२ सालमा राउटे युवा कपिल शाही जलेर सख्त घाइते भए । उनको काठमाडौंसम्म पु¥याएर उपचार गरिएको थियो । तर, आगोले पोलिएको घाउ निको भएन । घाउको दुखाइ कम गर्न उनले मदिराको सहारा लिए । नियमित अत्यधिक मदिरा सेवनले उनलाई अन्य स्वास्थ्य समस्या देखियो । अन्ततः कपिलले २०७७ असार ३१ गते ज्यान गुमाए । मदिराको अत्यधिक सेवनका कारण ज्यान गुमाउने समुदायका अर्का युवा हुन्, शिवराज शाही । बजारमा पाइने लिचीजस्ता मदिराको लतमा फसेका शिवराजले २०७८ वैशाखमा ज्यान गुमाएका थिए । त्यसमध्ये धेरैजसो वयस्क उमेरका राउटे नागरिक मदिरा सेवनको असर देखिएर मृत्युवरण गर्नेहरू छन ।

जाँड खानु राउटे समुदायको मौलिक विशेषता बनेको छ। उनीहरू परापूर्वकालदेखि छाप्रोमा बचेको खानाबाट जाँड बनाउने र सेवन गर्ने गर्दै आएका थिए। तर पछिल्ला वर्षमा भने आफूले बनाएको होइन, बजारमा पाइने कमसल गुणस्तरको मदिराका पारखी बनेका छन् । बालबालिकादेखि बूढापाकामा मदिरा सेवनको लत बढ्दै गएको छ । अत्यधिक मदिरा सेवनका कारण भीरबाट लडेर मृत्यु हुने क्रम बढेको छ । राउटे प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले बजारको कमसल गुणस्तरको मदिराको प्रयोग पूर्ण रूपमा रोक्न नसके राउटेको अस्तित्व नामेट हुने बताइन ।
‘राउटेको मदिरा सेवनको लत बन्द गर्नुपर्छ’ उनी भन्छीन सामाजिक सुरक्षा भत्ता मदिरामै सक्ने प्रवृत्ति राउटे समुदायमा छ, यसले समुदाय नै लोप हुने अवस्था नआउला भन्न सकिँदैन, त्यसैले अब सामाजिक सुरक्षा भत्ता दिदा सरकारले अन्य विकल्प खोज्नु पर्दछ । अधिकारीले भनिन पहिले राउटेहरू गिठा भ्याकुर, तरुललगायतका जंगली कन्दमूलको भरमा बाँच्थे, अहिले अस्वस्थकर खानाले पनि उनीहरूको स्वास्थ्यमा असर पु¥याएको छ । त्यसका लागी राज्यले बिशेष निति अबलम्बन गर्न आवश्यक छ ।
संघीय सरकारले राउटे समुदायलाई आर्थिक वर्ष २०६५÷०६६ देखि नै सामाजिक सुरक्षा भत्ता प्रदान गर्दैै आएको छ । हाल राउटे समुदायमा प्रतिव्यक्ति मासिक चार हजार रुपैयाँ भत्ता पाउँछन्। भत्ता बुझेको केही दिन उनीहरू मदिरा सेवनमा लठ्ठ हुन्छन्। राउटे समुदायका नागरिकहरूले भत्ताको रकम सबै रक्सी, सुर्ती र चुरोटमा खर्चिने गरेका छन ्। राउटे महामुखिया सुर्यनारायण शाहीले आफ्नो समुदाय रक्सीको कुतलमा फसेको बताए । उनले ‘पहिले हामी आफैंले बनाएको जाँड खान्थ्यौं, अहिले त सबै बजारका रक्सी खान्छन्,’ उनले भने, ‘महिला र पुरुष दुवैले अत्यधिक रक्सी सेवन गर्ने समस्या छ, अहिले त बालबालिका पनि अभिभावकसँगै रक्सी खान थालिसके।’ बुवाआमा मदिराको लतमा फसेर भर्खर जन्मिएका बालबच्चाको हेरचाह नगर्दा सबै सन्तान जन्मिनेबित्तिकै मर्न थालेको उहाँको भनाइ छ ।
राउटे समुदायमा पछिल्लो पाँच वर्षयता २६ जना शिशु जन्मिएका छन् । समुदायमा सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाले उपलब्ध गराएको तथ्यांकमा २०७५ साउनदेखि २०७८ मंसिरसम्म २६ जना शिशु जन्मिएका छन्। त्यसयता एक जनाको जन्म भएको छ ।

पाँच वर्षको अवधिमा जन्मिएका २७ शिशुुमध्ये १४ जनाले ज्यान गुमाइसकेका छन ्। यसले राउटे समुदायमा बालमृत्युदर ५० प्रतिशतभन्दा बढी देखाउँछ । परियोजनाका जोडी शिक्षकको रूपमा राउटे बस्तीमा खटिएका लालबहादुर खत्रीले अभिभावकले मदिरा सेवन गरेर नवजात शिशुको हेरचाह नगर्दा शिशुहरूले जन्मिएको एक हप्ताभित्रै ज्यान गुमाउने गरेको बताउनुभयो । उहाँले राउटेको बसाइ नै त्यस्तै छ, चिसो भुइँमा सुत्ने गर्छन्, पोषणयुक्त खानपिन छैन, त्यसमाथि अभिभावक मदिराको लतमा फँस्दा शिशुले अकालमै ज्यान गुमाइरहेका छन ।

केही वर्षअघिसम्म उनीहरू बाहिरी मान्छेसँग नजिक हुन चाहँदैनथे। फोटो र भिडियो खिच्न मान्दैनथे। वस्तु विनिमय गर्थे। आफूले बनाएको काठका भाडाँकुँडासँग गाउँगाउँमा पुगेर अन्न साट्थे। त्यही अन्नले जीविकोपार्जन गर्थे। पहिले उनीहरू आफैंले घरमै बनाएको जाँड खाने गर्थे। त्यसले स्वास्थ्यमा त्यति ठूलो हानि पु¥याएको देखिँदैनथ्यो। सुरुसुरुमा बस्तीमा पुगेर फोटो भिडियो खिच्ने र बस्तीमा विभिन्न बहानामा पुग्नेहरूले उनीहरूलाई ललाइफकाई बजारको न्यून गुणस्तरका मदिरा खान सिकाए । त्यसपछि विस्तारै मदिराको लतमा फस्न थालेको देखिन्छ । अहिले सडक सञ्जालहरूको विस्तारसँगै दुर्गम क्षेत्रसम्म अखाद्य वस्तुहरू पुगेको छ । पछिल्लो समय बजारमा पाउने मदिरा उनीहरूले अत्यधिक पिउन थालेको देखिन्छ । जंगलको राजा भन्ने र राज्यले बासस्थानको प्रबन्ध गर्छौ भन्दा नमान्ने कारण राउटे समुदायको जनसंख्या समेत घट्दै गएको छ । २०७५ सालमा राउटे परियोजना सुरु हुँदा राउटेको जनसंख्या एक सय ४७ थियो भने अहिले छ वर्षमा घटेर एक सय ३७ मा आएको छ ।
गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले गुराँस गाउँपालिका–८ का स्थायी बासीन्दाको परिचयपत्र समेत दिएको र नियमित सामाजिक सुरक्षाभत्ता समेत वितरण गर्ने गरेकाले उनीहरुले मानेको खण्डमा गुराँसमै राख्न सकिने बताए । उनले अन्य समुदायको सहज पुहँच नहुने ठाउँमा राउटेको बस्ती राख्नका लागी आफुहरु तयार रहेको बताए । उनले राउटेको अस्तित्व बचाँउनका लागी संघिय सरकार वा प्रदेश सरकारले आवश्यक सहयोग गरेको खण्डमा गुराँसमा नै उनीहरुलाई बसान्ल सकिन्छ ।