पेट्रोलियम अन्वेषणका लागि ड्रिलिङ अन्तिम चरणमा
दैलेख : दैलेखमा चलिरहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्म तीन हजार ९३० मिटर ‘ड्रिलिङ’ गरिएको छ। अब ७० मिटर मात्र बाँकी छ ।
दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ थालिएको हो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेशनाथ त्रिपाठीका अनुसार पुस महीनाभित्रै ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।
चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे’,जियोलोजिकल सर्भे, ‘म्याग्नेटो टेल्युरिक सर्भ,र जिओकेमिकल स्याम्पलिङ सर्भे गरेको थियो। सबै परीक्षण तोकिएकै समयमा सकिएको उनले बताए । ड्रिलिङ पनि निर्धारित समयमै सक्ने गरी काम भइरहेको त्रिपाठीले जानकारी दिए ।
चीनको दुई अर्ब ५० करोड रुपैयाँ सहयोगमा यस परियोजनामा काम भइरहेको छ । परियोजना अन्तर्गत ड्रिलिङका लागि भैरवी गाउँपालिका–१, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । चिनियाँ र नेपाली गरी ८० जनाको समूहले उत्खनन गरिरहेको छ। विभाग, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनीयरिङ कम्पनी परियोजनामा संलग्न छन् ।