महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंग शाही विजयी
दैलेख : महाबु गाउँपालिका अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन । । तीन हजार एक सय २७ मत प्राप्त गरी शाही विजयी भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिए ।
उनका निकटम् प्रतिद्वन्दी नेपाली काँग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत प्राप्त गरेका थिए । उनीहरु बीच मतान्तर चार सय ५२ रहेको छ । नवनिर्वाचित अध्यक्ष शाही २०७४ को निर्वाचनमा एमालेको तर्फबाट अध्यक्ष बिजयी भएका थिए । २०५४ को स्थानीय निर्वाचनमा काँशीकाँध गाविसको उपाध्यक्ष निर्वाचित भएका थिए ।
२०७८ मा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीमा लागेका शाही स्थानीय तह उपनिर्वाचनको उम्मेदवारी दिने समयमै कात्तिक अन्तिम साता नेकपा एमालेमा प्रवेश गरी यो पदमा उम्मेदवार बनेका थिए । सोमबार सकिएको मतगणनाको परिणाम अनुसार नेकपा माओवादी केन्द्रका जङ्गबहादुर बरालले आठ सय ४२ मत प्राप्त गरेका छन ।
रास्वपाका प्रकाशकुमार बुढाले एक सय १२, नेमकिपाका दुर्गबहादुर मगरले ५३, राप्रपाका सुर्जे रावतले ३१ र नेकपा एकीकृत समाजवादीका जगत हमालले ४ मत पाएका छन ।